- माघ ८, २०८२
- No Comment
- 114
प्रतिनिधी सभा निर्वाचन : कालिकोटमा एकै पालिकाबाट चार उम्मेदवार

सुर्खेत । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कालिकोटको रास्कोट नगरपालिकाबाट चार जना प्रत्यक्षतर्फका उम्मेदवार बनेका छन् ।
जिल्लाको नरहरीनाथ गाउँपालिका, पचालझरना गाउँपालिका र खाँडाचक्र नगरपालिकाबाट तीन/तीन उम्मेदवार चुनावी मैदानमा होमिएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार रास्कोटका स्थायी बासिन्दा नगेन्द्र शाही, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश न्यौपाने, प्रगतिशिल लोकतान्त्रिक पार्टीका धर्मराज न्यौपाने र स्वतन्त्र उम्मेदवार मानबहादुर तिरुवा रहेका छन् ।
पचालझरना गाउँपालिका नेपाली कांग्रेसका हर्षबहादुर बम, नेपाली कम्युनिष्ट पाटीका महेन्द्रबहादुर शाही र देशभक्त समाज पार्टीका प्रेमसिंह तिरुवाले मनोनयन दर्ता गराएका छन् ।
खाँडाचक्र नगरपालिकाका स्थायी बासिन्दा कांग्रेसका नेता भुपेन्दजंग शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर शाही र राष्ट्रिय जनमोर्चाका अजयबहादुर गिरी उम्मेदवार बनेका छन् ।
नरहरीनाथ गाउँपालिकाका स्थायी बासिन्दा नेकपा माओवादीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेपाली कम्युनिष्ट पार्टीका बागी उम्मेदवार जीवनबहादुर बुढा र जस्मिन विष्टले स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेमकिपाका उम्मेदवार नन्दबहादुर शाही शुभकालिकाका स्थायी बासिन्दा हुन् ।
कालिकोटमा प्रतिनिधि सभाको निर्वाचन रोचक बन्दै गएको छ । झण्डै दुई दशकपछि प्रकाण्डको उपस्थिति कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीमा देखिएको असन्तुष्टिले चुनावी परिणाम आ्कलन गर्न सहज नभएको स्थानीयहरुले बताएका छन् ।
२०६४ सालमा कालिकोटमा चुनाव लडेका प्रकाण्ड, लगातार चौथो पटक चुनाव लडेका महेन्द्रबहादुर शाही र यस अघि चुनाव लडिसकेका भुपेन्द्रजंग शाही र नगेन्द्र शाहीलाई नयाँ अनुहारले चुनौती दिएका छन् ।तत्कालीन नेकपा माओवादी केन्द्रले आधार क्षेत्र मान्दै आएको कालिकोटमा प्रतिनिधी सभा निर्वाचनपछि परिणाम विगतको भन्दा फरक आउने आकलन गरिएको छ । – नेपाल न्युज बैंक



