- माघ ८, २०८२
- No Comment
- 71
कांग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने तयारी

काठमाडौं। नेपाली कांग्रेसले पार्टी सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ। भोलि (शुक्रबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने बताइएको छ।
पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार सभापति थापा भोलि पहिलो पटक पार्टी केन्द्रीय कार्यालय सानेपा पुग्दै छन्। विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि उनले केन्द्रीय कार्यालयमा औपचारिक रूपमा पदस्थापन गर्ने कार्यक्रम रहेको छ। त्यसपछि मात्रै उनी आफ्नो निर्वाचन क्षेत्रमा जानेछन्।
भोलिको बैठक निर्वाचन केन्द्रित हुने र सोही बैठकबाट प्रधानमन्त्रीको उम्मेदवार घोषणा हुने तयारी रहेको कांग्रेस स्रोतले जनाएको छ। अन्य प्रमुख दलहरूले पनि आफ्ना प्रधानमन्त्रीका उम्मेदवार सार्वजनिक गरिसकेका छन्।
आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सभापति थापाले सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराइसकेका छन्।
“भोलि पार्टीको निर्वाचन केन्द्रित बैठक तय गरिएको छ। सभापतिज्यूले पहिले केन्द्रीय कार्यालयमा पदस्थापन गर्नुहुन्छ, त्यसपछि निर्वाचन क्षेत्र जाने कार्यक्रम तय हुनेछ,” प्रवक्ता चालिसेले रिपोर्टर्स नेपालसँगको संक्षिप्त कुराकानीमा बताए।
यसअघि नेकपा (एमाले) ले पार्टी अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन्द्र शाह तथा नेकपाले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेका छन्।



