• माघ ७, २०८२
  • No Comment
  • 116

निर्वाचन देखाएर काम नरोकिनुहोस् : मुख्यमन्त्री कँडेल

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले फागुन २१ गते हुने निर्वाचनलाई बहाना बनाएर विकास निर्माण तथा सेवा प्रवाहका काममा ढिलासुस्ती नगर्न निर्देशन दिएका छन्।

कर्णाली प्रदेश सरकारअन्तर्गतका मन्त्रालयहरूको आजदेखि सुरु भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले निर्वाचन आचारसंहिताले नियमित कामकाज रोक्ने अवस्था नरहेको स्पष्ट पारे। उनले भने, “हाम्रोमा बहाना खोज्ने प्रवृत्ति छ। निर्वाचन देखाएर विकासका काम रोकिनु हुँदैन।”

मुख्यमन्त्री कँडेलले मन्त्रालयहरूले तयार पारेका कार्यतालिका अनुसार काम हुन नसकेकोप्रति असन्तुष्टि व्यक्त गर्दै कार्यालय प्रमुखहरूलाई आफ्नो योग्यता, क्षमता र लगनशीलता परिणामसहित देखिने गरी काम गर्न निर्देशन दिए। विकास निर्माण र सेवा प्रवाहमा ढिलासुस्ती स्वीकार्य नहुने उल्लेख गर्दै उनले जनताको अपेक्षाअनुसार कामबाटै उत्कृष्टता प्रदर्शन गर्नुपर्ने बताए।

उनले निर्वाचन आचारसंहिताले नयाँ नीतिगत निर्णय र कार्यक्रमलाई मात्र प्रभाव पार्ने भए पनि नियमित वार्षिक नीति तथा कार्यक्रममा समावेश भई स्वीकृत भइसकेका योजना तथा कार्यक्रमको कार्यान्वयनमा कुनै अवरोध नहुने स्पष्ट गरे।

स्वीकृत योजना समयमै सम्पन्न नहुँदा सरकारप्रतिको जनविश्वास कमजोर हुने चेतावनी दिँदै मुख्यमन्त्री कँडेलले विकास आयोजनामा गुणस्तर, समयसीमा र पारदर्शितामा कुनै सम्झौता नगर्न निर्देशन दिए। साथै, समन्वय र अनुगमन प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले बजेट कार्यान्वयनमा देखिएका समस्याको पहिचान गरी समाधानतर्फ लाग्नुपर्ने बताए। उनले लक्ष्यअनुसार प्रगति हासिल गर्न मन्त्रालय र मातहतका कार्यालयबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गरे।

त्यसैगरी, जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजया बुढाले ऊर्जा र जलस्रोत क्षेत्र कर्णालीको समग्र विकासको मेरुदण्ड भएको उल्लेख गर्दै योजनाको प्रभावकारी कार्यान्वयनमा मन्त्रालय प्रतिबद्ध रहेको बताइन्।

कार्यक्रममा प्रमुख सचिव विरेन्द्र कुमार यादव, अर्थ सचिव, ऊर्जा सचिव तथा मन्त्रालयअन्तर्गतका १० जिल्लाका कार्यालय प्रमुखहरूको उपस्थिति रहेको थियो। समीक्षा कार्यक्रममा चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रगति तथा आगामी कार्ययोजनाका विषयमा समेत छलफल गरिएको थियो।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *