- माघ ७, २०८२
- No Comment
- 66
उम्मेदवारविरुद्ध उजुरी दिने समय आज, निर्वाचन आयोगको बाँकी कार्यतालिका सार्वजनिक

काठमाडौँ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ। प्रत्यक्षतर्फ उम्मेदवारी दिएका व्यक्तिहरूको योग्यता र कानुनी हैसियतमाथि दाबी–विरोध गर्न आजको दिन तोकिएको हो।
निर्वाचन आयोगका अनुसार आज परेका उजुरीहरूको माघ ८ गते जाँचबुझ गरी बेलुका ५ बजेसम्म योग्य उम्मेदवारहरूको नामावली प्रकाशन गरिनेछ। त्यसपछि माघ ९ गते बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन्। सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिनेछ भने साँझ ४ बजेदेखि ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ।
निर्वाचन आयोगका अनुसार देशभरका १६५ निर्वाचन क्षेत्रमा कुल २ हजार ९२५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। आयोगका सचिव कृष्णबहादुर राउतले सार्वजनिक गरेको विवरणअनुसार तीमध्ये २ हजार ५८९ जना पुरुष र ३३६ जना महिला उम्मेदवार रहेका छन्। साथै, ८५ जना अपाङ्गता भएका व्यक्ति र १३८ जना पिछडिएको क्षेत्रका उम्मेदवार निर्वाचन मैदानमा रहेका छन्। आयोगका अनुसार महिला सहभागिता अझै अपेक्षाकृत न्यून रहेको छ।
यसैबीच, सोमबार सम्पन्न मनोनयन दर्ता कार्यक्रम देशभर शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिनुभएको छ। उहाँले निर्वाचन प्रक्रियामा सहयोग गर्ने सबै राजनीतिक दल, उम्मेदवार तथा सरोकारवालाहरूलाई धन्यवाद दिँदै बाँकी चरणमा पनि सबै पक्षबाट निरन्तर सहयोग र सहकार्य हुने अपेक्षा व्यक्त गर्नुभएको छ।
निर्वाचन आयोगले उम्मेदवारीमाथि परेका उजुरीहरूको गम्भीर रूपमा छानबिन गरी कानुनअनुसार निर्णय गरिने र माघ ९ गते बेलुकासम्म सबै उम्मेदवारले आफ्नो निर्वाचन चिह्न प्राप्त गरिसक्ने जनाएको छ।



