- माघ ७, २०८२
- No Comment
- 91
इलाममा सुहाङ नेम्बाङसहित २७ जनाको उम्मेदवारी दर्ता

इलाम — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि इलामका दुईवटा निर्वाचन क्षेत्रमा तीन महिलासहित २७ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
मंगलबार इलाम सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा क्षेत्र नं. २ का उम्मेदवारले तथा सूर्योदय नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा क्षेत्र नं. १ का उम्मेदवारले मनोनयन दर्ता गराएका हुन्।
इलाम–१ मा १३ जनाको उम्मेदवारी
इलाम क्षेत्र नं. १ मा दुई महिलासहित १३ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत खुमप्रसाद भण्डारीले जानकारी दिए। यस क्षेत्रमा नेकपा (एमाले) का काजीमान कागते, नेपाली कांग्रेसका निश्कल राई र नेपाल कम्युनिष्ट पार्टीका रणबहादुर राई उम्मेदवार बनेका छन्।
त्यसैगरी श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ लिम्बू, उज्यालो नेपाल पार्टीका हरिबहादुर गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्वाला नेपाल, नेपाल मजदुर किसान पार्टीका तुल्सी केशरी प्रजापति, मङ्गोल नेशनल अर्गनाइजेशनका बुद्धलाल मेचे, नेपाल जनमुक्ति पार्टीका डम्बरसिंह लिम्बू, नेकपा (माओवादी) का नारदमणी साङपाङ, जनता समाजवादी पार्टीका लिलाबहादुर सुनुवार र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका रामप्रसाद लिम्बूले पनि उम्मेदवारी दर्ता गराएका छन्। यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीले महिला उम्मेदवार उठाएका छन्।
इलाम क्षेत्र नं. २ मा एक स्वतन्त्रसहित १४ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलले जानकारी दिए। यस क्षेत्रमा नेकपा (एमाले) का सुहाङ नेम्बाङ, नेपाली कांग्रेसका भेषराज आचार्य र नेपाल कम्युनिष्ट पार्टीका ओमबहादुर गुरुङ उम्मेदवार बनेका छन्।
त्यस्तै श्रम संस्कृति पार्टीका सुदिप राई, राष्ट्रिय परिवर्तन पार्टीका दिवस राई, राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलाल, मङ्गोल नेशनल अर्गनाइजेशनका श्याबहादुर लिम्बू, नेपाल जनमुक्ति पार्टीका यामबहादुर लिम्बू, राष्ट्रिय जनमुक्ति पार्टीकी पवित्रा लिम्बू तुम्बाहाम्फे, नेकपा (माओवादी) का होमप्रसाद खतिवडा, जनता समाजवादी पार्टीका बलबहादुर आङदेम्बे, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सादरसिंह मादेन (लिम्बू) तथा स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम रहेका छन्। यस क्षेत्रमा राष्ट्रिय जनमुक्ति पार्टीले मात्र महिला उम्मेदवार उठाएको छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि इलाममा ६ हजार ९ सय ३२ मतदाता थपिएका छन्। हाल जिल्लामा कुल २ लाख ३१ हजार ८ सय ९ मतदाता कायम छन्, जसमा १ लाख १९ हजार ६ सय ४८ पुरुष, १ लाख १२ हजार १ सय ५८ महिला र ३ जना तेस्रोलिङ्गी मतदाता रहेका छन्।
विसं २०७९ को निर्वाचनमा इलाममा २ लाख २४ हजार ८ सय ७७ मतदाता थिए। आउँदो निर्वाचनका लागि क्षेत्र नं. १ मा १ लाख १२ हजार ३ सय २० र क्षेत्र नं. २ मा १ लाख १९ हजार ४ सय ८९ मतदाता रहेका निर्वाचन कार्यालयले जनाएको छ।
निर्वाचनका लागि इलाममा १ सय ९० मतदानस्थलमा २ सय ५० मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।



