- पुस २७, २०८२
- No Comment
- 111
स्रोत नखुलेको १० लाख रुपैयाँसहित देवनाथ पक्राउ

सिरहा । सिरहाको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म मुख्यालय इनर्वाबाट खटिएको टोलीले आइतबार दिउँसो करिब १ बजे दशगजानजिक भारतबाट नेपालतर्फ आउँदै गरेका सिरहाको भगवानपुर गाउँपालिका–३ मरिकटोलका २४ वर्षीय देवनाथ यादवलाई पक्राउ गरेको हो।
सशस्त्र प्रहरीले गरेको जाँचका क्रममा यादवको साथबाट स्रोत नखुलेको नेपाली रुपैयाँ १० लाख तीन हजार ९९० रुपैयाँ नगद बरामद गरिएको छ। साथै, उनले प्रयोग गरेको मोटरसाइकल र एकथान मोबाइल पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका यादव तथा बरामद नगद र सामग्रीहरू आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालय बुझाउने प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
यस विषयमा सशस्त्र प्रहरी बल सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले सीमा क्षेत्रमा अवैध रकमको ओसारपसार नियन्त्रण गर्न निगरानी र सुरक्षा जाँचलाई थप कडाइ गरिएको बताए।



