- पुस २७, २०८२
- No Comment
- 96
पठाओका सञ्चालक असिममान सिंह बस्नेतद्वारा काठमाडौं–१ बाट उम्मेदवारी घोषणा

काठमाडौँ । पठाओ नेपालका सञ्चालक असिममान सिंह बस्नेतले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्दै बस्नेतले उद्यमीका रूपमा नेपालमै बसेर केही गर्ने क्रममा भोगेका अनुभवहरूले आफूलाई राजनीतिक जिम्मेवारी लिन प्रेरित गरेको बताएका छन्। उनले व्यवसाय र उद्यम सञ्चालन सहज नहुँदा क्षमता हुँदाहुँदै पनि भविष्य अनिश्चित बन्ने यथार्थ आफूले नजिकबाट देखेको उल्लेख गरे।
‘यो निर्णय सजिलो थिएन,’ बस्नेतले भने, ‘तर उद्यम र रोजगारीका अवसर सहज नबनेसम्म देशको समृद्धि सम्भव हुँदैन भन्ने निष्कर्षमा पुगेँ।’
राजनीतिमा प्रवेश गर्नुभन्दा पनि जिम्मेवारी लिन आएको स्पष्ट पार्दै उनले आफ्ना तीन प्रमुख एजेन्डा सार्वजनिक गरेका छन्। पहिलो एजेन्डाका रूपमा उद्यमशीलता र स्टार्टअपलाई प्रोत्साहन गर्ने नीतिगत व्यवस्था ल्याउने बताएका छन्। युवाहरूले नेपालमै सपना देख्न र त्यसलाई कार्यान्वयन गर्न सक्ने वातावरण निर्माण गर्ने उनको प्रतिबद्धता छ।
दोस्रो एजेन्डा जवाफदेहिता र सुशासन रहेको उनले बताए। ‘काम गर्नेले जवाफ दिनुपर्छ र निर्णय गर्नेले जिम्मेवारी लिनुपर्छ,’ भन्दै उनले यसैलाई सुशासनको आधारका रूपमा व्याख्या गरे।
तेस्रो एजेन्डा अनुभव र नयाँ पुस्ताबीच सेतु निर्माण गर्ने रहेको बस्नेतको भनाइ छ। अनुभवी पुस्ता र युवाबीच संवाद, मार्गदर्शन र सहकार्यको संस्कृति विकास गर्दै समाजलाई एकजुट बनाउने लक्ष्य रहेको उनले बताए।
बस्नेतले यो राजनीतिक यात्रा एक्लै सम्भव नभएको उल्लेख गर्दै आम नागरिकको साथ, सुझाव, आलोचना र सक्रिय सहभागिताको आह्वान गरेका छन्। ‘काठमाडौँ–१ बदलौँ, नेपाल बदलौँ,’ भन्ने नारासहित नेपालमै सम्भावना छ भन्ने विश्वासलाई व्यवहारमा उतार्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।



