- पुस २४, २०८२
- No Comment
- 109
वरिष्ठ वन अधिकृतमाथिको भ्रष्टाचार मुद्दामा प्रतिकूल बकपत्र गर्नेविरुद्ध मुद्दा दर्ता

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वरिष्ठ वन अधिकृतमाथि दायर भएको घुस/रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा प्रतिकूल बकपत्र गरेको आरोपमा दुई जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ।
आयोगका अनुसार कैलालीको चुरे गाउँपालिका–६ का प्रेम सिंह ठगुन्ना र गोदावरी नगरपालिका–२ का किसन सिंह साउदविरुद्ध आज भ्रष्टाचार मुद्दा दर्ता गरिएको हो।
अख्तियारले जनाएको छ कि वरिष्ठ वन अधिकृत पूर्ण शंकर यादव प्रतिवादी रहेको घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत भएका ठगुन्ना र साउदले अदालतमा बकपत्र गर्दा आयोगमा दिएको बयानभन्दा फरक विवरण तथा तथ्य प्रस्तुत गरी प्रतिकूल बकपत्र गरेका थिए।
आयोगका अनुसार सरकारी साक्षीले बयान फेरेर मुद्दाको अनुसन्धान र अभियोजन प्रक्रियामा बाधा पुर्याएको ठहर गर्दै उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको हो।
यस विषयमा विशेष अदालतमा सुनुवाइ प्रक्रिया अघि बढ्ने अख्तियारले जनाएको छ।



