- पुस २३, २०८२
- No Comment
- 157
बालकको मृत्यु प्रकरणमा कर्णाली प्रदेश अस्पतालमा आफन्तको भीड, सहमतिपछि अवस्था सामान्य

सुर्खेत – उपचारका क्रममा एक बालकको मृत्यु भएको घटनालाई लिएर कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा मृतकका आफन्तहरू भेला भई अवरोधको प्रयास गरेका छन्। तर छलफल र सहमतिपछि अवस्था सामान्य बनेको छ।
सुर्खेत प्रहरीका अनुसार २०८२ साल पुस २१ गते दिउँसो करिब ४:३० बजे कालिकोटको खाँडाचक्र नगरपालिका–२ पञ्चदेवल निवासी उमेश बरालका २ वर्षीय छोरा सन्तोष बराल आफ्नै घरको आँगनमा खेल्ने क्रममा लडेर घाइते भएका थिए। प्राथमिक उपचार जिल्ला अस्पताल मान्म कालिकोटमा गरिएपछि थप उपचारका लागि उनलाई कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत ल्याइएको थियो।
उपचारकै क्रममा पुस २३ गते राति करिब १२:३० बजे कर्णाली प्रदेश अस्पतालमै बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
यस घटनालाई लिएर मृतक बालकका आफन्तहरू करिब २०–२५ जनाको संख्यामा आज बिहान ७:४५ बजे अस्पताल परिसरमा भेला भई चिकित्सकको लापरबाहीका कारण बालकको मृत्यु भएको आरोप लगाउँदै छानबिनको मागसहित अस्पताल अवरोध गर्ने प्रयास गरेका थिए।
अवरोधको प्रयासपछि जिल्ला प्रहरी कार्यालय तथा नगर प्रहरी कार्यालय सुर्खेतबाट २ जना प्रहरी निरीक्षकसहित ६० जनाको प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरीको पहलमा मृतकका आफन्तहरू र कर्णाली प्रदेश अस्पतालका प्रमुख डा. गणेश थापासहितको टोलीबीच अस्पतालमै छलफल गराइएको थियो।
छलफलपछि बालकको उपचारमा लागेको खर्च अस्पतालले बेहोर्ने र शवलाई घरसम्म लैजाने विषयमा प्रारम्भिक सहमति भएको प्रहरीले जनाएको छ। दुई पक्षबीच सहमति भएपछि अवस्था सामान्य भएको छ।
घटनाबारे आवश्यक कानुनी प्रक्रिया र समन्वय अगाडि बढाइने प्रहरीले जनाएको छ।



