- पुस २१, २०८२
- No Comment
- 135
झापाका दुई युवा साइबर अपराधको आरोपमा पक्राउ

झापा – पछिल्ला केही महिनादेखि नेपालका विभिन्न सरकारी तथा गैरसरकारी निकायका सूचना प्रणाली र सर्भरमा अनधिकृत पहुँच गरी वेबसाइट ह्याकिङ तथा डाटा चुहावट गरिएका घटनाहरू सार्वजनिक हुँदै आएका छन्। CMD Nepal, Nepali for Nepal (NFN) लगायतका समूहले यस्ता घटनाको जिम्मेवारी लिँदै सामाजिक सञ्जालमार्फत सामग्री प्रसारण गर्दै आएको सन्दर्भमा सुरक्षानिकायले विस्तृत अनुसन्धान थालेको थियो।
नेपाल मेडिकल काउन्सिल, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग र निर्वाचन आयोगबाट प्राप्त उजुरीका आधारमा गरिएको विशिष्टीकृत प्राविधिक विश्लेषण तथा अनुसन्धानका क्रममा केही व्यक्तिहरूको संलग्नता खुल्न आएको प्रहरीको भनाइ छ। सोही आधारमा विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा उनीहरूलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय झापा र सिन्धुपाल्चोकको सहयोगमा गरिएको कारबाहीमा झापा जिल्लाका दुई जना युवालाई फरक–फरक मिति र स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका–९ का २० वर्षीय सन्तोष चिमरिया रहेका छन्, जसलाई २०८२ साल मंसिर २८ गते सोही स्थानबाट पक्राउ गरिएको हो। त्यस्तै, झापा दमक नगरपालिका–९ का १९ वर्षीय विकास पौडेललाई २०८२ साल पुस १८ गते सिन्धुपाल्चोक जिल्लाको साँगाचोकगढी नगरपालिका–९ बाट पक्राउ गरिएको जनाइएको छ।
पक्राउ परेका व्यक्तिहरूको साथबाट चार थान ल्यापटप, १० थान एन्ड्रोइड मोबाइल, एक थान आईफोन, एक थान फिचर फोन, एक थान हार्ड ड्राइभ र एक थान रिपिटर बरामद गरिएको छ। बरामद सामग्रीहरू डिजिटल अपराधसँग सम्बन्धित हुन सक्ने आशंकामा प्राविधिक परीक्षणका लागि प्रयोगमा ल्याइँदैछ।
हाल पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान जारी रहेको र घटनासँग सम्बन्धित अन्य व्यक्ति तथा समूहबारे पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।



