- पुस २१, २०८२
- No Comment
- 124
बंगलादेशमा आइपिएलको प्रशारणमा प्रतिबन्ध

काठमाडौँ – बंगलादेश सरकारले देशभित्र इन्डियन प्रिमियर लिग (आईपीएल) को प्रसारणमा प्रतिबन्ध लगाएको छ। बंगलादेश सरकारको सूचना तथा प्रसारण मन्त्रालयले अर्को सूचना जारी नहुँदासम्म आईपीएलको कुनै पनि खेल प्रसारण नगर्न आदेश दिएको हो।
बंगलादेशी क्रिकेटर मुस्ताफिजुर रहमानलाई कोलकाता नाइट राइडर्स (केकेआर) टोलीबाट हटाइएपछि उत्पन्न विवादका बीच सरकारले यस्तो निर्णय गरेको हो। मुस्ताफिजुरलाई टोलीबाट निकालिएको विषयलाई लिएर बंगलादेशमा तीव्र प्रतिक्रिया देखिएको छ।
यसअघि युवा तथा खेलकुद सल्लाहकार आसिफ नजरुलले मुस्ताफिजुर रहमानमाथि गरिएको व्यवहारप्रति आपत्ति जनाउँदै सूचना तथा प्रसारण सल्लाहकारलाई आगामी आईपीएल खेलहरूको सबै प्रसारण रोक्न आवश्यक कदम चाल्न आग्रह गरेका थिए।
उनले बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) लाई पत्र लेख्दै आगामी टी–२० क्रिकेट विश्वकपमा बंगलादेशका खेलहरू भारतको सट्टा श्रीलंकामा सार्न अनुरोध गर्न निर्देशनसमेत दिएका छन्।
यसैबीच, बंगलादेश क्रिकेट बोर्डले २०२६ को टी–२० विश्वकप खेल्न बंगलादेश टोली भारत भ्रमण नगर्ने निर्णय गरेको जनाएको छ। सरकार र क्रिकेट बोर्डका पछिल्ला निर्णयहरूले बंगलादेश–भारत क्रिकेट सम्बन्धमा थप तनाव उत्पन्न हुने संकेत देखिएको छ।



