- पुस २१, २०८२
- No Comment
- 143
ओलीको विदेश भ्रमण र स्थान हद फुकुवा

काठमाडौं – भदौ २३–२४ मा भएको घटनासम्बन्धी जाँचबुझ आयोगले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको विदेश भ्रमण रोक र स्थान हद फुकुवा गरेको छ।
आयोगले सोमबार ओलीमाथि लगाइएको बन्देज हटाउने निर्णय गरेको हो। आयोगका सदस्य तथा प्रवक्ता विज्ञान राज शर्माका अनुसार घटनाको जाँचबुझ तथा छानबिनका क्रममा तत्कालीन प्रधानमन्त्रीसमेत रहेका ओलीलाई विदेश भ्रमणमा रोक लगाउनुका साथै अनुमतिबेगर काठमाडौं उपत्यका बाहिर जान नपाउने गरी असोज १२ मा निर्णय गरिएको थियो।
तर, सोधपुछ तथा आवश्यक बुझ्ने कार्य सम्पन्न भइसकेकाले उक्त निर्णयको औचित्य समाप्त भएको भन्दै आयोगले प्रतिबन्ध फुकुवा गरेको जनाएको छ।
आयोगका अनुसार आइतबार ओलीलाई बयानका लागि पत्र काटिएको थियो। तर, पत्र लिएर उनको निवास गुण्डु पुगेको आयोगको टोलीसमक्ष ओलीले प्रत्यक्ष उपस्थित नभई लिखित बयान पठाएका थिए।
आयोगले घटनासम्बन्धी अनुसन्धान प्रक्रिया अगाडि बढिसकेको र आवश्यक कागजात तथा बयान प्राप्त भइसकेकाले अब थप बन्देज आवश्यक नदेखिएको स्पष्ट पारेको छ।



