• पुस २१, २०८२
  • No Comment
  • 130

जाडोमा खानैपर्ने पोसिला खानेकुरा

काठमाडौं – जाडो मौसम बढेसँगै स्वास्थ्यप्रति सचेत रहन चिकित्सकहरूले सुपाच्य, सन्तुलित र पोषिलो खानेकुरा खान सुझाव दिएका छन्। चिसो मौसममा बाहिरी कपडाले मात्र शरीर तताउन पर्याप्त नहुने भएकाले भित्री रूपमा शरीरलाई तातो राख्ने खानेकुरामा ध्यान दिनुपर्ने चिकित्सकहरूको भनाइ छ।
हाम्रा पुर्खाले सिकाएको सन्तुलित आहार–विहार, नियमित दिनचर्या र सकारात्मक सोचले जीवन स्वस्थ र फलदायी बनाउने मान्यता आज पनि उत्तिकै सान्दर्भिक छ। जाडोमा शरीरलाई बढी क्यालोरी आवश्यक पर्ने भएकाले पोषणयुक्त खानेकुरा सेवन गर्नु आवश्यक हुन्छ। भित्री रूपमा शरीर तातो नभए रुघाखोकी, ज्वरो जस्ता समस्या बढ्न सक्ने स्वास्थ्य विज्ञहरूको चेतावनी छ।
जाडोमा खानपानमा ध्यान दिनुपर्ने कुरा
जाडो मौसममा शरीरलाई पर्याप्त क्यालोरी आवश्यक पर्ने भएकाले सन्तुलित भोजनमा जोड दिनुपर्छ। कम क्यालोरी र कम फ्याटयुक्त खाना रोज्नु उपयुक्त हुन्छ। बिहानको नास्तामा रोटी, स्यान्डविच, फलफूल, एक गिलास तातो दूध, सलाद वा अतिरिक्त फलफूल समावेश गर्न सकिन्छ।
दिउँसोको खानामा हरियो तरकारी, रोटी, ताजा दही वा मही, बोक्रासहितको दाल–भात, दालको तातो सुप र हरियो धनियाँको चटनी लाभदायक मानिन्छ। रातिको खाना सकेसम्म छिटो खाने र सुत्नुअघि तातो दूधमा बेसार, नुन र अदुवाको पेस्ट मिसाएर पिउनु स्वास्थ्यका लागि राम्रो हुने चिकित्सकको सुझाव छ।
जाडोमा लाभदायक खानेकुरा
जुनेलो
जुनेलोको रोटी जाडोमा उपयुक्त मानिन्छ। यसमा प्रोटिन, क्याल्सियम, आइरन, म्याग्नेसियम, फाइबर, भिटामिन बी र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ।
बदाम
बदामको नियमित सेवनले विभिन्न रोगबाट बच्न सहयोग पुर्‍याउने चिकित्सकहरू बताउँछन्। जाडोमा देखिने कब्जियत कम गर्न बदाम उपयोगी हुन्छ भने यसले मधुमेह नियन्त्रणमा पनि मद्दत गर्छ।
अदुवा
अदुवा अत्यन्त उपयोगी मसला हो। यसको नियमित सेवनले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउँछ, शरीरमा तातोपन बढाउँछ र पाचन प्रक्रियामा सहयोग पुर्‍याउँछ।
मह
आयुर्वेदमा महलाई अमृतसमान मानिन्छ। महको नियमित सेवनले पाचन शक्ति बढाउनुका साथै रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ। विशेष गरी रुघाखोकीमा मह लाभदायक मानिन्छ।
माछा
माछामा पाइने ओमेगा–३ फ्याटी एसिडले शरीरलाई तातो राख्न मद्दत गर्छ। यसमा जिंकको मात्रा पर्याप्त हुने भएकाले रोग प्रतिरोधात्मक क्षमता बढ्छ र रुघाखोकी लाग्ने सम्भावना कम हुन्छ।
सागसब्जी
हरियो सागसब्जी जाडोमा अनिवार्य रूपमा खानुपर्छ। मेथी, रायो, चम्सुर, पालुंगो, काउली, मुला, सलगम, गाजर र लसुनजस्ता सागसब्जीले शरीरको रोगसँग लड्ने क्षमता बढाउँछन्।
तिल
तिल प्रयोग भएका परिकारले शरीरलाई ऊर्जा प्रदान गर्छन्। तिलको तेलले मालिस गर्दा शरीर तातो हुन्छ। खोकी लाग्दा तिल र मिस्री मिसाएर सेवन गर्दा कफ निकाल्न सहयोग पुग्छ।
सुप
जाडो मौसममा सुप अत्यन्त उपयोगी मानिन्छ। गाजर, मुला, च्याउजस्ता सागसब्जी वा खसी, कुखुराको मासुबाट बनाइएको तातो सुपले चिसो कम गर्नुका साथै शरीरलाई ऊर्जा प्रदान गर्छ।
स्वास्थ्य विज्ञहरूका अनुसार जाडोमा सन्तुलित र पोषणयुक्त खानपान अपनाएमा चिसोबाट हुने रोगबाट बच्न सकिन्छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *