- पुस २०, २०८२
- No Comment
- 160
सुर्खेत–२ बाट युवा टेक उद्यमी कृष्ण खत्रीको स्वतन्त्र उम्मेदवारी घोषणा

सुर्खेत । आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुर्खेत क्षेत्र नं. २ बाट युवा टेक उद्यमी कृष्ण खत्रीले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।
सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका–११, सुब्बाकुन्ना स्थायी घर भएका २७ वर्षीय खत्रीले जेन्जी पुस्ताको प्रतिनिधित्व गर्दै राजनीतिमा प्रवेश गरेका हुन्। प्रविधि क्षेत्रबाट आएका खत्री संसद र सरकारी संयन्त्रलाई आधुनिक, पारदर्शी तथा प्रविधिमैत्री बनाउने लक्ष्यसहित चुनावी मैदानमा उत्रिएको बताएका छन्।
सुर्खेत क्षेत्र नं. २ अन्तर्गत वीरेन्द्रनगर नगरपालिका (१ देखि १४ वडासम्म), बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका तथा चौकुने गाउँपालिकाका सबै वडा पर्दछन्। सो क्षेत्रका मतदातासँग प्रत्यक्ष संवाद गर्दै खत्री स्वतन्त्र उम्मेदवारका रूपमा मत माग्दै सक्रिय छन्।
प्रविधि र खेलकुदमा जोड
पेशा अनुसार वेब तथा मोबाइल एप डेभलपर रहेका खत्रीले नेपालमै विभिन्न टेक कम्पनी स्थापना गरी रोजगारी सिर्जना गरेको अनुभव रहेको बताउँछन्। आफूलाई ‘टेक्नोलोजी गाइ’ का रूपमा चिनाउने खत्री संसदमा पुगेपछि सरकारी कामकाजलाई डिजिटल, छिटो र पारदर्शी बनाउने उद्देश्य राखेको उल्लेख गर्छन्।
“नेपालको संसदमा प्रविधिको प्रयोग अझै कमजोर छ। म संसदमा गएर डिजिटल गभर्नेन्स लागू गर्ने, सरकारी प्रणालीलाई आधुनिक बनाउने र युवामैत्री नीति निर्माणमा सक्रिय भूमिका खेल्न चाहन्छु,” खत्रीले बताए।
खेलकुदमा समेत सक्रिय रहेका खत्रीले खेलकुद नीति, कानुन निर्माण तथा बजेट विनियोजनमा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्। “खेलकुद मनोरञ्जन मात्र होइन, यो राष्ट्रको पहिचान र युवाको भविष्यसँग जोडिएको विषय हो,” उनले भने।
नयाँ राजनीतिक सोचको दाबी
खत्रीको उम्मेदवारीलाई जेन्जी पुस्ताको बढ्दो राजनीतिक सहभागिताको निरन्तरताका रूपमा हेरिएको छ। पुरानो राजनीतिक शैलीबाट निराश जनताका लागि नयाँ सोच, नयाँ ऊर्जा र परिणाममुखी राजनीति आवश्यक रहेको उनको भनाइ छ।
यस क्षेत्रबाट अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार हृदयाराम थानी निर्वाचित भएका थिए। यसपटक भने खत्रीले दलभन्दा माथि उठेर जनताको प्रतिनिधि बन्ने दाबी गरेका छन्।
डिजिटल अभियान
निर्वाचन अभियानका क्रममा खत्रीले डिजिटल माध्यमलाई प्राथमिकतामा राखेका छन्। आफ्नो आधिकारिक वेबसाइटमार्फत घोषणापत्र तथा गतिविधि सार्वजनिक गर्दै आएका उनी TikTok लगायतका सामाजिक सञ्जालमार्फत नियमित भिडियो सन्देश, जनसंवाद र चुनावी प्रचारमा सक्रिय देखिएका छन्।



