- पुस १९, २०८२
- No Comment
- 190
सरकार चुनाव सार्ने बहाना खोज्दै छ : मुख्यमन्त्री कँडेल

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सचिव तथा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वर्तमान सरकारले फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन सार्ने बहाना खोजिरहेको आरोप लगाएका छन्।
बिहीबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय समिति क्षेत्र नं. २ को तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले सुरुमा राजनीतिक दलहरूको नाम देखाएर चुनाव सार्ने प्रयास गरिए पनि अहिले सरकार आफैं अन्यौलमा परेको बताए। सरकारको व्यवहारले अझै पनि निर्वाचनप्रति स्पष्ट प्रतिबद्धता नदेखिएको उनको भनाइ थियो।
“सरकार चुनाव हुन्छ भन्छ, तर हाम्रो पार्टीका अध्यक्षलाई स्थान हद तोकेर चुनावी प्रचारप्रसार गर्न नै नदिइने अवस्था छ भने कसरी चुनाव सम्भव हुन्छ?” भन्दै उनले प्रश्न गरे। चुनावी गतिविधिमा अनावश्यक रोक लगाइनु लोकतान्त्रिक मूल्य–मान्यताको विपरीत भएको उनको टिप्पणी थियो।
मुख्यमन्त्री कँडेलले नेकपा एमाले लोकतान्त्रिक पार्टी भएको उल्लेख गर्दै सधैं निर्वाचनको सम्मान गर्ने र सहभागी हुने स्पष्ट पारे। तर, त्यसका लागि निष्पक्ष, स्वतन्त्र र भयमुक्त चुनावी वातावरण निर्माण गर्न सरकार गम्भीर हुनुपर्नेमा उनले जोड दिए।
संविधान, आन्दोलन र देशका लागि पार्टीले दिएको ऐतिहासिक योगदानको स्मरण गर्दै उनले सबै नेता–कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरे। “नेपालको लोकतान्त्रिक विरासत जोगाइराख्न एमाले एकजुट हुन आवश्यक छ,” उनले भने।



