- पुस १८, २०८२
- No Comment
- 147
बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित

खजुरा— बाक्लो हुस्सु र कुहिरोका कारण बाँकेसहित पश्चिम तराईको जनजीवन प्रभावित भएको छ। अत्यधिक चिसो बढेसँगै बालबालिका, विद्यार्थी, मजदुर, गरिब, असहाय तथा ज्येष्ठ नागरिकहरू सबैभन्दा बढी प्रभावित भएका छन्।
हुस्सु र कुहिरोका कारण स्थानीय बासिन्दा घरबाहिर निस्कन सकेका छैनन्। बिहानै खुल्ने पसल तथा बजारहरू ढिलो गरी खुल्ने गरेका छन् भने साँझपख चिसो बढेसँगै बजार क्षेत्र चाँडै सुनसान हुन थालेका छन्।
कठ्याङ्ग्रिँदो चिसोसँगै बाक्लो हुस्सु लाग्दा सवारीसाधन सञ्चालनमा समेत समस्या देखिएको छ। नेपालगन्ज–१६ का सवारी चालक रामप्रसाद थारूका अनुसार कम दृश्यताका कारण सवारी चलाउन निकै कठिन भएको छ।
यसैबीच चिसोका कारण विभिन्न स्वास्थ्य समस्याका बिरामीको संख्या बढ्दै गएको छ। भेरी अस्पतालका सूचना अधिकारी संकेत रिसालका अनुसार दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी बढेका छन्। हाल दैनिक १०० भन्दा बढी निमोनिया र रुघाखोकीका बिरामी उपचारका लागि अस्पताल आउने गरेका उनले जानकारी दिए।
स्थानीय प्रशासन तथा स्वास्थ्यकर्मीहरूले अत्यधिक चिसोबाट बच्न न्यानो कपडा प्रयोग गर्न, अनावश्यक रूपमा घरबाहिर ननिस्कन र विशेष गरी बालबालिका तथा ज्येष्ठ नागरिकको हेरचाहमा ध्यान दिन सर्वसाधारणलाई आग्रह गरेका छन्।



