• पुस १८, २०८२
  • No Comment
  • 154

न्यु इयर पार्टीमा आगलागी हुँदा ४० जनाको मृत्यु

स्विट्जरल्याण्डको क्रान्स–मोन्टानामा नयाँ वर्षको अवसरमा आयोजना गरिएको पार्टीका क्रममा आगलागी हुँदा कम्तिमा ४० जनाको मृत्यु भएको छ भने ११५ जना घाइते भएका छन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार उक्त घटना क्रान्स–मोन्टानाको प्रसिद्ध स्की रिसोर्टमा रहेको ‘ले कन्स्टेलेसन’ नामक बारमा ‘न्यु इयर इभ’ पार्टी चलिरहेको बेला भएको हो।

स्थानीय अधिकारीहरूका अनुसार आगलागी राति करिब १ः३० बजे सुरु भएको थियो। ठूलो भिडभाडका बीच अचानक आगो लागेपछि बारभित्र हाहाकार मच्चिएको र ज्यान जोगाउन मानिसहरू बाहिर निस्कन दौडिएका थिए। प्रत्यक्षदर्शीहरूले आगो तीव्र रूपमा फैलिँदै गएको बताएका छन्। रोयटर्सले प्रमाणित गरेको भिडियो फुटेजमा भवनभित्रबाट आगो द्रुत गतिमा फैलिएको देखिन्छ।

घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको र धेरैलाई गहिरो जलन भएको स्थानीय अधिकारीहरूले जनाएका छन्। क्यान्टन प्रहरी प्रमुख फ्रेडरिक गिस्लरका अनुसार मृतकको संख्या अझै पुष्टि प्रक्रियामा रहेकाले बढ्न सक्ने सम्भावना छ। गम्भीर जलनका कारण केही घाइतेको पहिचान गर्न कठिनाइ भइरहेको बताइएको छ।

स्थानीयका अनुसार उक्त बार किशोर–किशोरीहरूबीच निकै लोकप्रिय थियो। फ्रान्सेली टेलिभिजन बीएफएम टीभीसँग कुरा गरेका दुई युवतीले बेसमेन्टतर्फ ‘जन्मदिनमा प्रयोग हुने फाउन्टेन क्यान्डल’ काठको छत नजिक राख्दा आगो सल्किएको दाबी गरेका छन्। उनीहरू साँघुरो सिँढी हुँदै बाहिर निस्कन सफल भए पनि केही मिनेटमै आगो भुइँतलासम्म फैलिएको बताएका छन्।

इटालीका अधिकारीहरूले ६ जना इटालियन नागरिक अझै बेपत्ता रहेको र १३ जना अस्पतालमा उपचाररत रहेको जानकारी दिएका छन्। त्यसैगरी, फ्रान्सेली विदेश मन्त्रालयका अनुसार फ्रान्सका ८ जना नागरिक पनि बेपत्ता रहेका छन्। घटनामा विभिन्न देशका नागरिक संलग्न रहेको बताइएको छ।

स्थानीय अभियोजक बिएत्रिस पिलूदले घटनाबारे औपचारिक अनुसन्धान सुरु गरिएको जानकारी दिएकी छन्। प्रारम्भिक अनुसन्धानमा ठूलो आगलागीपछि विस्फोटजस्तै अवस्था सिर्जना भएको हुन सक्ने आशंका गरिएको छ।

घटनाप्रति अन्तर्राष्ट्रिय स्तरमा चासो बढेको छ। फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंले स्विस समकक्षीसँग सम्पर्क गरी सहयोगको प्रस्ताव गरेका छन्। केही घाइतेलाई फ्रान्सका अस्पतालमा सारिएको छ भने जर्मनी र इटालीले पनि उपचारमा सहयोग गर्ने जनाएका छन्।

हाल घटनास्थल वरपरका सडकहरू सिल गरिएको छ र फरेन्सिक टेन्ट राखी विस्तृत अनुसन्धान भइरहेको स्थानीय प्रशासनले जनाएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *