- पुस १७, २०८२
- No Comment
- 125
नेपालको विविधता नै राष्ट्रिय शक्ति हो : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेपाल विविधतायुक्त देश भएको उल्लेख गर्दै विविधता नै राष्ट्रिय शक्ति भएको बताएका छन्। विविध संस्कृतिहरू, भाषा, धर्म, पहिचान र मूल्य–मान्यताबीचको सहअस्तित्वले नेपाली समाजलाई थप सुदृढ बनाएको उनको भनाइ छ।
क्रिसमस तथा नयाँ वर्ष २०२६ को अवसरमा सुर्खेतमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले नेपाल बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक देश भएकाले सबै समुदायबीच आपसी सम्मान, सद्भाव र विश्वास कायम राख्न आवश्यक रहेको बताए। चाडपर्वहरू विश्वास र मेलमिलाप बढाउने अवसर भएकाले तिनलाई समाजलाई जोड्ने माध्यमका रूपमा प्रयोग गर्नुपर्नेमा उनले जोड दिए।
मुख्यमन्त्री कँडेलले विश्वास, सद्भाव र सहिष्णुताको भावना अभिवृद्धि गर्दै चाडपर्व मनाउन सके विविधतालाई एकतामा रूपान्तरण गर्न सकिने उल्लेख गरे। विविधतालाई खलल पुर्याउने कुनै पनि प्रयासलाई सबै मिलेर अस्वीकार गर्नुपर्ने बताउँदै उनले समाजमा विभाजन ल्याउने गतिविधिहरूप्रति सतर्क रहन आग्रह गरे।
समाज आपसी भरोसा र विश्वासको आधारमा अघि बढिरहेको उल्लेख गर्दै मुख्यमन्त्री कँडेलले पछिल्लो समय सामाजिक सद्भावको वातावरण थप मजबुत बन्दै गएको बताए। सबै समुदायले निर्भीकतापूर्वक आफ्ना धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधि सञ्चालन गर्न सक्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व भएको उनले स्पष्ट पारे।
मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेश सरकारले धार्मिक तथा सांस्कृतिक सहिष्णुता प्रवर्द्धन गर्ने नीति अवलम्बन गर्दै आएको उल्लेख गर्दै सबै धर्म, संस्कृति र समुदायलाई समान सम्मान र अवसर प्रदान गर्ने प्रतिबद्धता प्रदेश सरकारको रहेको बताए। विविधतालाई संरक्षण गर्दै एकता मजबुत बनाउन सके मात्र समृद्ध र समावेशी समाज निर्माण सम्भव हुने उनको भनाइ छ।



