- पुस १६, २०८२
- No Comment
- 161
जाजरकोटमा अवैध शिकारका क्रममा आफ्नै साथीको गोली लागेर एकको मृत्यु, पाँच जना हतियारसहित पक्राउ

जाजरकोट — जाजरकोटको बारेकोट गाउँपालिकामा अवैध शिकार खेल्ने क्रममा आफ्नै साथीको गोली लागेर एक जनाको मृत्यु भएको छ। घटनामा संलग्न अन्य पाँच जनालाई प्रहरीले अवैध हतियारसहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार २०८१ पुस १३ गते बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट खारा जंगलमा शिकार खेल्न गएका ६ जनामध्ये ३६ वर्षीय प्रचण्ड देव सिंहको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको हो। प्रारम्भिक अनुसन्धानअनुसार शिकारकै क्रममा साथीले चलाएको गोली उनलाई लागेको बताइएको छ।
इलाका प्रहरी कार्यालय दल्लीबाट प्रहरी नायब निरीक्षक किरण सापकोटाको कमाण्डमा खटिएको टोलीले घटनास्थलबाट पाँच जनालाई नियन्त्रणमा लिएको थियो। प्रहरीले उनीहरूका साथ तथा जंगलमा लुकाइछिपाइ राखिएको अवस्थामा अवैध हातहतियार र विष्फोटक सामग्री बरामद गरेको जनाएको छ।
पक्राउ पर्नेमा जाजरकाेटकाे बारेकाेट गाँउपालिका वडा नम्बर ८ निवासी करिब ४५ वर्षिय इन्द्र बहादुर सिंह, साेहि वडाका ४५ वर्षिय मीम बहादुर सिंह, २४ वर्षिया राजिव शाही, ४४ वर्षिय जनक कार्की र ३१ वर्षिय लाल बहादुर सिंह रहेका छन् । साथै उनीहरूबाट तीन थान भरुवा बन्दुक, दुई थान फलामको चक्कु, १३५.१८ ग्राम बारुद जस्तो देखिने धुलो पदार्थ, बन्दुकमा प्रयोग हुने फलामका २१ थान टुक्रा तथा ११ थान केप बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका पाँचै जनाविरुद्ध कर्तव्य ज्यान तथा हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। जाजरकोट जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी सुधिर कुमार खड्काले जानकारी दिनुभयो। प्रहरीले घटनाको विस्तृत विवरण र अवैध शिकारको उद्देश्यबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।



