- पुस १५, २०८२
- No Comment
- 105
उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका उच्च पहाडी तथा हिमाली केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार ती क्षेत्रमा कतै–कतै हल्का वर्षा र हिमपात हुन सक्ने देखिएको हो।
महाशाखाले भोलि र पर्सि पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहेको जानकारी दिएको छ।
यसैबीच, तराईका धेरै स्थानमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। अझै केही दिन तराई क्षेत्रमा हुस्सु र कुहिरो यथावत् रहने सम्भावना रहेको महाशाखाले जनाएको छ। तराईमा चिसो बढ्दै जाँदा जनजीवन प्रभावित हुँदै आएको भए पनि हालसम्म शीतलहरको आधिकारिक घोषणा भने गरिएको छैन।
काठमाडौँ उपत्यकामा आज बिहान हुस्सु लागेको भए पनि दिउँसो मौसम सफा रहने अनुमान गरिएको छ। आज बिहान पौने ६ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ।



