- पुस ७, २०८२
- No Comment
- 115
कोशी प्रदेशका दुई नेताले गरे बाबुराम भट्टराईको साथ छाड्ने घोषणा

काठमाडौँ । वैकल्पिक राजनीतिको अभियानमा पछिल्लो १२ वर्षदेखि डा. बाबुराम भट्टराईसँग सहकार्य गर्दै आएका कोशी प्रदेशका नेता भरत दाहाल र तेजलाल कर्णले भट्टराईको साथ छाड्ने घोषणा गरेका छन्।
‘वैकल्पिक शक्ति’को अवधारणाबाट सुरु भएको राजनीतिक यात्राले नयाँ शक्ति पार्टी, जनता समाजवादी पार्टी हुँदै हाल प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सम्म आइपुगेपछि उनीहरूले पार्टी परित्याग गर्ने निर्णय गरेका हुन्।
नयाँ शक्ति पार्टी गठनको समयमा भरत दाहाल केन्द्रीय सचिव र तेजलाल कर्ण केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए। उनीहरूले केन्द्रीय नेतृत्वको कार्यशैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै पार्टी छाडेको बताएका छन्।
नेता दाहालले पार्टीले कुनै उल्लेखनीय राजनीतिक उपलब्धि हासिल गर्न नसकेको कारण आफूले अलग हुने निर्णय गरेको बताए। यस्तै, केन्द्रीय सदस्य तेजलाल कर्णले डा. भट्टराईले पुनः माओवादी विचारधाराकै नेताहरूसँग सहकार्य गर्दै ‘माओवादको नयाँ आवरण’ ओढेको आरोप लगाएका छन्।
दुई नेताको यो निर्णयले प्रलोपा पार्टीभित्र आन्तरिक असन्तुष्टि चुलिँदै गएको संकेत गरेको छ।



