- पुस ७, २०८२
- No Comment
- 102
भारतलाई फराकिलो अन्तरले हराउँदै पाकिस्तान यु–१९ एसिया कप च्याम्पियन

पाकिस्तानले एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। दुबईमा सम्पन्न फाइनल खेलमा भारतलाई १९१ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तान च्याम्पियन बनेको हो।
पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाउँदै ३४७ रनको विशाल योगफल तयार गर्यो। पाकिस्तानका ओपनर समिर मिनासले उत्कृष्ट प्रदर्शन गर्दै ११३ बलमा १७२ रनको शानदार इनिङ खेले। उनलाई अहमद हुसैनले ७२ बलमा ५६ रन बनाएर राम्रो साथ दिए।
समिर र अहमदले तेस्रो विकेटका लागि १३७ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याएका थिए।
३४८ रनको लक्ष्य पछ्याएको भारतले आक्रामक सुरुवात गरे पनि लगातार विकेट गुमाउँदा दबाबमा पर्यो। भारतले पाँचौं ओभरमै ५० रन पुर्याएको थियो। तर वैभव सूर्यवंशी १० बलमा २६ रन बनाएर आउट भएपछि भारतीय इनिङ कमजोर बन्न पुग्यो।
पावरप्लेको समाप्तिसम्म भारतले ५ विकेट गुमाउँदै मात्र ६८ रन जोड्न सक्यो। त्यसपछि भारतीय ब्याट्सम्यानहरू सम्हालिन नसक्दा टोली १९१ रनको फराकिलो हार व्यहोर्न बाध्य भयो।
यस जितसँगै पाकिस्तानले यु–१९ एसिया कपमा आफ्नो दबदबा पुनः स्थापित गरेको छ।



