- पुस १, २०८२
- No Comment
- 157
खाली पेटमा मनतातो पानी पिउनुका यस्ता छन् फाइदा

काठमाडौं– पानी र जीवनबीच गहिरो सम्बन्ध भएजस्तै पानी र स्वास्थ्यको सम्बन्ध पनि अत्यन्तै महत्वपूर्ण मानिन्छ। पानीको मात्रा, पिउने समय र तरिकाले स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने चिकित्सकहरू बताउँछन्। शरीरका आन्तरिक क्रियाकलाप पानी बिना सम्भव नहुने भएकाले पर्याप्त र सही समयमा पानी पिउनु आवश्यक हुन्छ।
विशेषज्ञहरूका अनुसार दैनिक ३ देखि ४ लिटर पानी पिउनु शरीरका लागि लाभदायक हुन्छ। विशेषगरी बिहान उठेपछि खाली पेटमा मनतातो पानी पिउनु स्वास्थ्यका लागि झन् उपयोगी मानिन्छ। उम्लिएको पानी मनतातो भएर सेलाएपछि पिउनुले शरीरमा सकारात्मक प्रभाव पार्ने विभिन्न अनुसन्धानले देखाएका छन्।
बिहान खाली पेटमा मनतातो पानी पिउनुका फाइदा यसप्रकार छन्:
१. बिहान उठ्नेबित्तिकै मनतातो पानी पिउनाले टाउको दुख्ने समस्या कम हुनुका साथै मुखको दुर्गन्ध हटाउन र ब्याक्टेरियाको संक्रमणबाट जोगिन मद्दत गर्छ।
२. यसले शरीरमा रक्तसञ्चारलाई सन्तुलित र नियमित बनाउँछ। साथै एसिडिटीको समस्या कम हुनुका साथै पेट सफा राख्न सहयोग पुर्याउँछ।
३. खाली पेटमा मनतातो पानी पिउनाले कब्जियतको समस्या कम हुन्छ। पर्याप्त पानीले जोर्नी दुखाइ घटाउन र हड्डी मजबुत बनाउन पनि मद्दत गर्दछ।
४. भोक नलाग्ने समस्या भएकाले मनतातो पानीमा कागतीको रस, अलिकति नुन र मरिच मिसाएर पिउन सक्ने चिकित्सकहरू सुझाव दिन्छन्। यसले भोक बढाउन सहयोग पुर्याउँछ।
५. रुघाखोकी लागेको अवस्थामा मनतातो पानी पिउनु लाभदायक मानिन्छ। यसले शरीरलाई आराम महसुस गराउँछ।
६. छालामा चाउरीपना वा दागधब्बा देखिन थालेको छ भने बिहान खाली पेटमा मनतातो पानी पिउनु उपयोगी हुन्छ। चिया–कफीको सट्टा ग्रीन टी सेवन गर्दा छाला चम्किलो हुनुका साथै तौल घटाउन पनि मद्दत पुग्छ।
७. मनतातो पानीमा कागतीको रस मिसाएर पिउनाले शरीरभित्र जम्मा भएका विषाक्त पदार्थ बाहिर निस्कन सहयोग पुग्छ र रोग प्रतिरोधात्मक क्षमता बढ्छ।
८. अत्यधिक थकान महसुस हुने व्यक्तिहरूले बिहान मनतातो पानी पिउने बानी बसाल्दा मांसपेशी तन्दुरुस्त राख्न मद्दत पुग्ने चिकित्सकहरूको भनाइ छ।
स्वास्थ्यका लागि साना तर नियमित बानीहरू महत्वपूर्ण हुने भएकाले बिहान खाली पेटमा मनतातो पानी पिउने बानी अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।



