- मंसिर २९, २०८२
- No Comment
- 343
दैलेखमा सरस्वती माध्यमिक विद्यालयको ५० औँ वार्षिकोत्सव तथा स्वर्णजयन्ती समारोह सम्पन्न

दैलेखको आठविस नगरपालिका–२ सिंगाैडी हुलाकडाँडामा अवस्थित श्री सरस्वती माध्यमिक विद्यालयले आफ्नो ५० औँ वार्षिकोत्सव तथा स्वर्णजयन्ती–२०८२ भव्य रूपमा सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीलाइ आमन्त्रण गरिएकाे थियाे । विद्यालय स्थापनाको पाँच दशक पूरा भएको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षा क्षेत्रका व्यक्तित्व, अभिभावक, शिक्षक, विद्यार्थी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि घनश्याम भण्डारीले विद्यालयले ग्रामीण क्षेत्रमा शिक्षा विस्तारमा खेलेको भूमिकाको प्रशंसा गर्दै गुणस्तरीय, व्यवहारिक र प्रविधिमैत्री शिक्षामा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभएकाे थियाे । उहाँले शिक्षा नै समाज रूपान्तरणको मुख्य आधार भएको उल्लेख गर्दै प्रदेश सरकार शिक्षा क्षेत्रको विकासमा प्रतिबद्ध रहेकाे जनाउनु भयाे । समारोहमा विद्यालयको स्थापना कालदेखि हालसम्मको शैक्षिक यात्रा, उपलब्धि र योगदानबारे चर्चा गरिएको थियो। वक्ताहरूले विद्यालयले उत्पादन गरेका दक्ष जनशक्ति, सामाजिक चेतना अभिवृद्धिमा पुर्याएको योगदान र आगामी दिनमा सुधार गर्नुपर्ने पक्षबारे धारणा राखेका थिए।
स्वर्णजयन्ती समारोहको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम, शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रमसमेत सञ्चालन गरिएको थियो । विद्यालय परिवारले आगामी दिनमा शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास र अनुशासित शैक्षिक वातावरण निर्माणमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेको छ । पाँच दशक लामो शैक्षिक यात्राको स्मरणस्वरूप सम्पन्न गरिएको यस समारोहले विद्यालय र समुदायबीचको सम्बन्धलाई थप मजबुत बनाउने विद्यालयले विश्वास व्यक्त गरेकाे छ।



