- मंसिर २५, २०८२
- No Comment
- 218
रास्वपाको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण सुर्खेतमा

सुर्खेत। सुर्खेतमा शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम हुने भएको छ। कर्णालीमा पार्टी संगठनलाई प्रदेशदेखि पालिकातहसम्म विस्तार र सुदृढ बनाउने उद्देश्यले वीरेन्द्रनगरमा प्रशिक्षण आयोजना गर्न लागिएको पार्टीका कर्णाली प्रदेश प्रवक्ता हरिप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार केन्द्रीय प्रशिक्षण विभागको निर्णयअनुसार सबै प्रदेशमा प्रशिक्षण पूरा भइसकेको र बाँकी रहेको कर्णालीमा भोलि कार्यक्रम गरिनेछ।
भोलि हुने कार्यक्रममा पार्टीका कार्यवाहक सभापति डिपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा, कर्णाली प्रदेश इञ्चार्ज गणेश पराजुली, केन्द्रीय प्रशिक्षण सचिव कमल सुवेदी र केन्द्रीय सदस्य तथा पूर्व समानुपातिक सांसद बिनिता कठायत लगायतका नेताहरूको उपस्थिति रहने छ। रास्वपाका अनुसार पार्टी स्थापना भएको केही वर्षमै सदस्य संख्या उल्लेख्य रूपमा बढेपछि आधिकारिक दस्तावेज, नीति तथा कार्यक्रमलाई तल्लो तहसम्म प्रभावकारी रूपमा पुर्याउन प्रशिक्षण आवश्यक भएको बताइएको छ।
प्रवक्ता अधिकारीका अनुसार तल्लो तहका कमिटी प्रशिक्षित भएपछि पार्टीका नीति–कार्यक्रम जनतासम्म सहज रूपमा पु¥याउन मद्दत हुनेछ। प्रशिक्षणमार्फत प्रदेशभर संगठन विस्तार गर्ने, पार्टी बलियो बनाउने र आगामी कार्यक्रम जनतासम्म पुर्याउने लक्ष्य लिइएको छ। प्रशिक्षणमा केन्द्रले दिनुपर्ने सामग्रीसँगै तल्लो तहबाट केन्द्रलाई आवश्यक सुझाव संकलन गर्ने व्यवस्था पनि मिलाइएको छ। स्थानीय तह, निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशका पदाधिकारीसहित करीब तीन सय जना सहभागी रहने अनुमान गरिएको छ। रास्वपाले भोलिको प्रशिक्षणलाई आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन लक्षित गरिएको जनाएको छ।



