- मंसिर २२, २०८२
- No Comment
- 92
पूर्वसांसद ग्लानले त्यागे माओवादी

मकवानपुर — बागमती प्रदेशका पूर्वसांसद ओमबहादुर ग्लानले माओवादी केन्द्रको सदस्यता त्यागेको घोषणा गरेका छन्। जनयुद्धका सहभागीसमेत रहेका ग्लानले सोमबार एक विज्ञप्ति जारी गर्दै पार्टीका सबै जिम्मेवारीबाट अलग भई स्वतन्त्र रूपमा अघि बढ्ने निर्णय सार्वजनिक गरेका हुन्।
मकवानपुरको राक्सिराङ–४ स्थायी ठेगाना भएका ग्लानले जनक्रान्ति र जनयुद्धमा सहभागी हुन पाएकोमा गर्व महसुस भए पनि पछिल्लो समय व्यावहारिक कारणले सक्रिय रूपमा काम गर्न नसकिएको बताए। उनका अनुसार यही कारणले पार्टीलाई असहज नहोस् भन्ने उद्देश्यले नैतिकताको आधारमा कुनै पनि जिम्मेवारीमा नरहने निर्णय गरिएको हो।
‘विगतको योगदान र इतिहासप्रति गर्व गर्दै मूल नेतृत्व, नेता तथा कार्यकर्ता तथा जनताप्रति आभार व्यक्त गर्दै फरक ढङ्गको यात्रा सुरु गर्न चाहन्छु,’ विज्ञप्तिमा ग्लानले उल्लेख गरेका छन्।
ग्लान २०७४ मा बागमती प्रदेशसभा सदस्य बनेका थिए। उनी माओवादी केन्द्रको समानुपातिक सूचीबाट प्रदेश सांसद भएका थिए।



