- मंसिर १७, २०८२
- No Comment
- 101
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं — नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्याएको आरोपमा बुधबार आयोगले विशेष अदालत काठमाडौंमा उनीहरूविरुद्ध अभियोग दर्ता गरेको हो।
अख्तियारका अनुसार महानिर्देशक अधिकारीसहित कार्यालयका तत्कालीन निर्देशक मुरारी भण्डारी, उप–प्रबन्धक नलविक्रम थापा, वरिष्ठ अधिकृत तथा हाल उप–प्रबन्धक सम्वृद्धि श्रेष्ठमाथि भ्रष्टाचार मुद्दा दायर गरिएको छ। साथै परामर्शदाता गुरूदत्त अधिकारी, अभियन्त्र कन्सल्टिङ प्रालि र सोही कम्पनीका तत्कालीन सञ्चालक विजय थापा पनि विपक्षीका रूपमा समावेश छन्।
अख्तियारले सार्वजनिक सम्पत्ति हानीनोक्सानी भएको भन्दै महानिर्देशक अधिकारीबाट मात्र १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ विगो माग गरेको छ।
मुद्दा दर्ता गर्नुअघि प्रदीप अधिकारीलाई विशेष अदालतमा उपस्थित गराइएको थियो। ढिला गरी अभियोगपत्र दायर भएकाले बयान तथा थुनछेक बहस शुक्रबार मात्र हुने अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए।



