- मंसिर १४, २०८२
- No Comment
- 64
पार्टी कार्यालयमै एमाले नेता कर्ण थापामाथि दुर्व्यवहार
काठमाडौँ – नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापामाथि पार्टी कार्यालय, च्यासलमै दुर्व्यवहार भएको छ। कार्यालयबाट निस्कने क्रममा केही व्यक्तिहरूले थापामाथि धकेलमुक्कजस्तो गरेको दृश्यसमेत सार्वजनिक भएको छ।
थापामाथि दुर्व्यवहार गर्नेहरू अध्यक्ष केपी शर्मा ओलीको सुरक्षार्थ परिचालित व्यक्तिहरू रहेको थापाले बताए। उनका अनुसार अध्यक्षले नै बोलाएपछि कार्यालयतर्फ जाँदै गर्दा आफूले असामान्य व्यवहार भोग्नुपरेको हो।
“पार्टी अध्यक्षले नै आउनुस् भन्नुभएकाले जाँदै थिएँ। तर उहाँको सुरक्षार्थ भनेर गलत पृष्ठभूमिका मानिसहरू खटिएका रहेछन्, उनीहरूले राजनीतिक व्यवहार गर्न जानेनन्,” थापाले प्रतिक्रिया दिए।
उनले ओली वरिपरि रहेका सुरक्षामा खटिएका व्यक्तिहरूको गैरराजनीतिक व्यवहारले पार्टीकै छवि बिग्रिरहेको पनि आरोप लगाए।
यता, एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने यस घटनालाई सामान्य रूपमा लिनुपर्ने बताएका छन्। “यो सामान्य कुरा हो। अध्यक्षको सुरक्षार्थ खटिएकाहरूले यति गर्ने नै भए,” उनले टिप्पणी गरे।
दुर्व्यवहारको भिडियो सार्वजनिक भएपछि पार्टीभित्रै यस विषयमा छलफल र आलोचना भइरहेको छ।