- मंसिर ११, २०८२
- No Comment
- 51
शरीरलाई स्वस्थ राख्न खानै पर्ने खानेकुराहरु
जाडो मौसम सुरु भएसँगै धेरै मानिसहरू दिनभरको कामकाजपछि अत्यधिक थकान महसुस गर्छन् । पर्याप्त ऊर्जा नहुँदा दैनिक गतिविधि प्रभावित हुने भएकाले मौसमअनुसारको सही खानपान अत्यावश्यक मानिन्छ । स्वास्थ्य विशेषज्ञका अनुसार केही प्राकृतिक खानेकुराहरूले शरीरलाई तत्काल ऊर्जा दिनुका साथै रोगप्रतिरोधात्मक क्षमता पनि मजबुत बनाउँछन् ।
ऊर्जा तथा ताप उत्पादनका लागि कम नुन प्रयोग भएको र जैतुन, तोरी वा रिफाइन्ड तेलमा पकाइएको खाना उपयोगी हुने बताइन्छ । जाडोमा पनि पानी तथा तरल पदार्थको पर्याप्त सेवन गर्नुपर्छ भने बच्चा, गर्भवती र वृद्धहरूले चिसो पदार्थ तथा आइसक्रिम जस्ता चीजबाट जोगिन सुझाव दिइएको छ ।
ऊर्जादायी फलफूल तथा अन्य खाद्यपदार्थ
स्याउमा पाइने कार्बोहाइड्रेट, फाइबर र एन्टिअक्सिडन्टले शरीरलाई बिस्तारै तर दीर्घकालीन ऊर्जा प्रदान गर्छ । त्यस्तै अण्डा प्रोटिनको उत्कृष्ट स्रोत मानिन्छ । अण्डामा पाइने ‘ल्युसिन’ नामक एमिनो एसिडले शरीरमा ऊर्जा उत्पादनलाई थप प्रभावकारी बनाउँछ भने भिटामिन ‘बी’ ले खानालाई ऊर्जा रूपान्तरणमा सहयोग गर्छ ।
केरा पनि शरीरका लागि उत्कृष्ट ऊर्जा स्रोत हो । यसमा पाइने कार्ब्स, पोटासियम र भिटामिन ‘बी–६’ ले शरीरमा तुरुन्त ऊर्जा बढाउन मद्दत गर्छ ।
गाढा चकलेटमा पाइने कोको तथा एन्टिअक्सिडन्टले मस्तिष्क र मांसपेशीलाई सक्रिय बनाउने हुँदा थकान कम गर्न प्रभावकारी मानिन्छ ।
चुकन्दर र सखरखण्डको महत्व
चुकन्दरमा पाइने एन्टिअक्सिडन्ट र नाइट्रेटले रगत प्रवाह तीव्र बनाइदिन्छ, जसले शरीरमा अक्सिजन अभिवृद्धि हुँदै ऊर्जा स्तर वृद्धि हुन्छ । सखरखण्डमा पाइने फाइबर, कार्ब्स, म्याङ्गनीज र भिटामिन ‘ए’ ले पाचन ढिलो गराउँदै शरीरलाई लामो समयसम्म सक्रिय राख्छ ।
तातोपनाका लागि आवश्यक खानेकुरा
आलस, तिल, काजु, पिस्ता तथा बदाममा पाइने तैलीय तत्वले जाडोमा शरीरलाई तातो राख्न मद्दत गर्छ । अदुवा, बेसार तथा मरिच जस्ता मसला तातोपना र संक्रमणविरुद्ध लड्न उपयोगी छन् ।
मांसाहारीको लागि कुखुराको सुप जाडो मौसममा निकै फाइदाजनक मानिन्छ । यसले रुघाखोकी कम गर्ने र शरीरमा ताप बढाउने काम गर्छ ।
अनाज र अन्य विकल्प
दलियामा पाइने बीटा–ग्लुकनले शरीरमा दिगो ऊर्जा प्रदान गर्छ । ब्राउन राइसमा पनि फाइबर, भिटामिन तथा म्याङ्गनीज प्रचुर मात्रामा पाइने भएकाले यो सेतो चामलभन्दा स्वास्थ्यकर मानिन्छ ।
स्ट्रबेरीमा पाइने भिटामिन ‘सी’, फाइबर र कार्बोहाइड्रेटले शरीरलाई ऊर्जावान बनाइ थकान कम गर्छ ।
कफीमा पाइने क्याफिनले स्नायु प्रणालीलाई सक्रिय बनाउँदै तत्काल ऊर्जा दिन्छ, तर अत्यधिक सेवन भने स्वास्थ्यका लागि हानिकारक हुनसक्ने विशेषज्ञको सुझाव छ ।
स्वास्थ्यकर्मीहरूका अनुसार जाडोमा जौ, गहुँ र फापर जस्ता अन्नसेवन उपयुक्त हुन्छ, भातले भने शरीरलाई चिस्याउने बताइन्छ । साथै, लसुनले भाइरससँग लड्न मद्दत गर्ने भएकाले नियमित सेवन उपयोगी मानिन्छ ।
विशेषज्ञहरू भन्छन्— जाडो मौसममा प्राकृतिक, तातो र पोषक तत्वले भरिपूर्ण खानेकुराको सेवनले न केवल ऊर्जा बढाउँछ, संक्रमण तथा चिसोसम्बन्धी समस्या पनि घटाउँछ ।