- मंसिर ४, २०८२
- No Comment
- 128
प्रसूति भवन निर्माणमा अनियमितता गरेकाे आरोपमा ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रसूति केन्द्र भवन निर्माणमा गम्भीर अनियमितता र भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशोक कुमार सिंहसहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। आयोगले उनीहरूलाई सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्याई भ्रष्टाचार गरेको आरोप लगाउँदै १५ लाख ८ हजार ५५७ रुपैयाँ बिगो माग गरेको हो।
मुद्दा दायर भएकामध्ये सिंहसँगै शिक्षा विकास तथा समन्वय इकाइ बाजुराका तत्कालीन इन्जिनियर सुनेश कुमार चौरसिया र सब–इन्जिनियर नरेश रावत पनि समावेश छन्। सोही प्रकरणमा प्रसूति भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष पारस रोकाया, सचिव मुना रोकाया र कोषाध्यक्ष खडक ऐडीलाई समेत विपक्षी बनाइएको छ।
अख्तियारका अनुसार हिमाली गाउँपालिका–६ मा निर्माण भएको प्रसूति केन्द्र भवन लागत अनुमानअनुसार निर्माण नभई बढी भुक्तानी गरिएको मात्र होइन, निर्माण भएको संरचना पनि कमसल सामग्री प्रयोगका कारण भग्नावशेषमा परिणत भएको पाइएको छ। यसले सार्वजनिक सम्पत्तिमा ठूलो हानी नोक्सानी भएको आयोगको भनाइ छ।
आर्थिक वर्ष २०७५/०७६ मा भवन निर्माणका लागि स्वास्थ्य कार्यालय बाजुराबाट २० लाख र उपभोक्ता समितिबाट ६ लाख १५ हजार २०६ रुपैयाँसहित कुल २६ लाख १५ हजार २०६ रुपैयाँमा २०७६ जेष्ठ मसान्तभित्र काम सम्पन्न गर्नेगरी सम्झौता भएको थियो। तर तत्कालीन निमित्त कार्यालय प्रमुख सिंहसहित ६ जनाले बदनीयतपूर्वक झुठा बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी १५ लाख ८ हजार ५५७ रुपैयाँ अनियमित रूपमा भुक्तानी गरेको अख्तियारको दाबी छ।
कमसल निर्माणका कारण भवन पुरै नचल्ने अवस्थामा पुगेपछि सार्वजनिक सम्पत्तिको हिनामिना, हानिनोक्सानी र दुरुपयोग गरेको प्रमाण अनुसन्धानबाट पुष्टि भएको आयोगले जनाएको छ।



