- कार्तिक ३०, २०८२
- No Comment
- 123
प्रदूषण बढेसँगै किन आइरहन्छ खकार? जोगिन के गर्ने?

राजधानीमा बढ्दो वायु प्रदूषणसँगै घाँटी चिलाउने, खसखस हुने, खकार बढी आउनेजस्ता समस्या व्यापक रूपमा देखिन थालेका छन्। चिकित्सकका अनुसार हावामा धुलो–धुवाँका साना कण अत्यधिक मात्रामा वृद्धि हुँदा श्वासप्रश्वास प्रणाली प्रभावित भई खकारजन्य समस्या बढ्ने गरेको छ।
ईएनटी विशेषज्ञ डा. अर्पणा न्यौपानेका अनुसार अहिलेका धेरै बिरामीहरूमा ‘‘खकार नआउने तर निकाल्न मन लागिरहने’’ समस्या बढिरहेको छ, जुन मानसिक रूपमा प्रदूषणले निम्त्याएको प्रभाव पनि हुन सक्छ। ‘‘धुलोका कण घाँटीमा टाँसिएर असजिलो महसुस गराउँछन्, जसका कारण मान्छेलाई सदैव घाँटी सफा गर्नुपर्नेजस्तो लागिरहन्छ,’’ उनले बताइन्।
चिकित्सकहरूले शरीरले बाहिरबाट प्रवेश गरेका कण हटाउन सक्रिय रूपमा खकार उत्पादन गर्ने भएकाले प्रदूषण बढेपछि खकारको मात्रा अत्यधिक बढ्ने जनाएका छन्। दीर्घकालसम्म यस्तो अवस्था रहे ‘एक्यूट ब्रोन्काइटिस’ को जोखिम बढ्ने र समयमै नियन्त्रण नभए ‘क्रोनिक ब्रोन्काइटिस’ मा रूपान्तरित हुन सक्ने चेतावनी समेत चिकित्सकहरूले दिएका छन्। लगातार खकार निस्किरहँदा श्वासनलीका ग्रन्थीहरू ठूलो हुने र दीर्घकालीन समस्या निम्तिन सक्ने उनीहरूको सुझाव छ।
यतिबेला काठमाडौँको वायुमण्डलमा अत्यधिक प्रदूषण मापन गरिएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का मापदण्डअनुसार PM 2.5 को सुरक्षित स्तर ४० माइक्रोग्राम भए पनि काठमाडौँमा यो मात्रा १९० सम्म पुगेको तथ्यांक सार्वजनिक भएको छ, जसलाई ‘हानिकारक’ स्तरको प्रदूषण मानिन्छ।
जोगिन के गर्ने?
सुरक्षित र प्रमाणित मास्क प्रयोग गर्ने।
विशेषगरी बच्चा, वृद्ध र बिरामीलाई बिहान–बेलुकी बाहिर नलगिने, किनकि चिसो र स्थिर हावामा प्रदूषणका कण जमिन नजिकै रहन्छन्।
लामो समयसम्म खोकी, घाँटी दुखाइ वा खसखस जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य परीक्षण गर्ने।
घरमा सफा हावा कायम राख्न एयर प्युरिफायर वा भेन्टिलेसन सुधार्ने।
चिकित्सकहरूका अनुसार प्रदूषण नियन्त्रण नहुँदासम्म औषधिले मात्रै समस्या समाधान गर्न सक्दैन, त्यसैले राज्यले वायु प्रदूषण न्यूनीकरणका लागि तत्काल कदम चाल्नुपर्ने आवश्यकता बढेको छ।



