- कार्तिक २९, २०८२
- No Comment
- 69
सुर्खेतकाे चौकुनेमा बालमैत्री पूर्वसूचना प्रणालीको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
सुर्खेत। सुर्खेतकाे चौकुने गाउँपालिका वडा न ८ को साझा हलमा बालमैत्री पूर्वसूचना प्रणालीको क्षमता अभिवृद्धि कार्यक्रम चौकुने गाउँपालिका अध्यक्ष खडक बिवस बासपानेको प्रमुख अतिथिमा सम्पन्न भएको छ् । बालिकाहरुको उत्थानशीलता अभिवृद्धि तथा उनीहरुलाई जलवायु जोखिमबाट जोगाउने उद्देश्यका साथ सोसेक नेपालको आयोजना चौकुने गाउँपालिकाको सहजिकरण र युनिसेफ नेपालको आर्थिक सहयोगमा चौकुने गाउँपालिकाका लक्षित बालमैत्री पूर्वसूचना प्रणाली क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको हो । युनिसेफ नेपालका पूर्वसूचना प्रणाली विशेषज्ञ मधुसुदन गौतमले कार्यक्रम चौकुने गाउँपालिका र सम्बन्धित सबै सरोकारवालाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको बताउनुभयो ।
उहाँले यस किसिमका कार्यक्रमहरुले स्थानीय निकायलाई बालमैत्री दृष्टिकोणबाट पूर्वसूचना प्रणाली सुदृढ गर्न सहयोग गर्ने र समुदायस्तरमा जलवायु जोखिम व्यवस्थापनमा बालबालिकाको सहभागिता बढाउने विश्वास व्यक्त गर्नुभयो । बिपद् ब्यबस्थापन र खानेपानी सरफाईका सहजकर्ता नरबिर ऐडीले संस्थाले विगत लामो समय देखि पूर्वसूचना प्रणालीमा सक्रिय रुपमा काम गर्दै आएको बताउनुभयो । उहाँले बालबालिकाहरुलाई पूर्वसूचना प्रणालीमा जोडेर जोखिम न्यूनिकरणमा ध्यान केन्द्रित गर्नुपर्ने जोड दिदै, यस्ता पहलहरुले समुदाय स्तरमा जोखिम व्यवस्थापन सुदृढ गर्ने र बालबालिकाको सुरक्षा सुनिश्चित गर्ने कार्यमा महत्वपूर्ण भूमिका तर्क गर्नुभयो । कार्यक्रममा पूर्वसूचना प्रणालीका चार वटा स्तम्भहरुमा आधारित चौकुने गाउँपालिकाको वर्तमान अवस्थाको विश्लेषण गरिएको थियो । साथै, बालबालिका जलवायु जोखिम सूचकांकको आधारमा वडागत स्तरमा जोखिमको अवस्था मूल्यांकन गरिएको छ् ।
चौकुने गाउँपालिकाका अध्यक्ष खडक बिवस वासपानेले स्थानीय तहमा बालमैत्री पूर्वसूचना प्रणाली सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो । चौकुने गाउँपालिकाका शिक्षा शाखा प्रमुख टेकेन्द्र बुढाले बिपद् सम्बन्धि पाठ्यक्रम प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रमले स्थानीय पाठ्यक्रममा समेटिएका पूर्वसूचना सम्बन्धी विषयवस्तुहरु बारे छलफल र अन्तरक्रिया गर्ने अवसर पनि प्रदान गरेको थियो । सहभागीहरुले जल तथा मौसम विज्ञान विभाग सुर्खेतकि ईन्दिरा कडेलसँग पूर्वसूचना कसरी बालमैत्री बनाउने भन्ने विषयमा समूह अभ्यास र छलफल पनि गरेका थिए ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका शाखा अधिकृत गोमा ढकाल ( पौडेल)ले पूर्वसूचना प्रणालीमा बालबालिकालाई संलग्न गरेर विपद् जोखिम न्यूनिकरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले यस कार्यका लागि प्राधिकरण सधैं तत्पर रहने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमले बालबालिकालाई जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणका विषयमा सचेत गराउने र पालिकास्तरमा बालमैत्री पूर्वसूचना प्रणाली सुदृढ गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ् ।