- कार्तिक २४, २०८२
- No Comment
- 128
कलाकार उत्तम शर्माद्धारा ‘पुष्पानारायण छात्रवृत्ति अक्षयकोष’ स्थापना
सुर्खेत– कलाकार उत्तम शर्माले आफूले पाएको पुरस्कार राशीको विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । युवा तथा राष्ट्रिय प्रतिभा पुरस्कार २०८१ बाट पुरस्कृत शर्माले वीरेन्द्रनगर १ बांगेसिमलस्थित सरस्वति प्राथमिक विद्यालयमा ‘पुष्पानारायण छात्रवृत्ति अक्षयकोष’ स्थापना गरे ।
यही विद्यालयबाट शर्माले प्राथमिक शिक्षा हासिल गरेका थिए । उनी खासगरी लोकदोहोरी र झ्याउरे नृत्य विधामा चर्चित छन् । कलाकार शर्माले सोमबार एक लाख रुपैयाँको चेक वडाध्यक्ष दिनेश खत्री, विद्यालयका प्रअ सुर्वणदेव गिरीको उपस्थितिमा अध्यक्ष भूमिसरा श्रेष्ठलाई हस्तान्तरण गरे । उक्त कार्यक्रममा कलाकार शर्माका बुवा नारायण तथा आमा पुष्पा शर्माको पनि उपस्थिति रहेको थियो ।
बुवाआमाको नाममा स्थापित अक्षयकोषबाट प्राप्त ब्याजले वर्षेनि विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्य राखिएको बताए । उनले यसअघि पनि पुरस्कारबाट प्राप्त रकम सामाजिक क्षेत्रमा लगानी गर्ने गरेका थिए । साथै आगामी वर्षहरुमा अक्षयकोषको रकम वृद्धि गर्ने योजना सुनाए ।