- कार्तिक २४, २०८२
- No Comment
- 97
स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै कर्णाली प्रदेश सरकार
सुर्खेत – प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई थप व्यवस्थित र एकरूपता ल्याउन कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका स्थानीय तहका जनप्रतिनिधिसँग दुई दिने भेला आयोजना गर्ने भएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा कात्तिक २५ र २६ गते प्रदेश राजधानी सुर्खेतमा भेला हुने भएको हो। उक्त भेलामा प्रदेशभरका नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतहरूका साथै १० वटै जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखहरू सहभागी हुने कार्यालयले जनाएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मीकुमार विकका अनुसार भेलामा मुख्य तीन विषयमा छलफल हुनेछ — पहिलो, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध तथा सेवा प्रवाह; दोस्रो, योजना छनोटसम्बन्धी हालको अभ्यास र कार्यविधि; र तेस्रो, स्थानीय तहका कर्मचारी, राजस्व संकलन तथा बाँडफाँडका विषयहरू।
सचिव विकका अनुसार संविधानमा व्यवस्था गरिएको सहकारिता, सहअस्तित्व र समन्वयको भावनाअनुसार प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई अझ समन्वयात्मक ढङ्गले अघि बढाउने उद्देश्यले यो छलफल आयोजना गरिएको हो।
उनका अनुसार छलफल र अन्तरक्रियाबाट प्रदेश र स्थानीय तहबीच रहेका सम्बन्ध, समस्या तथा तिनका समाधानका उपायहरू पहिचान गरिनेछ। कर्णाली प्रदेश सरकारले पहिलो पटक योजना छनोट र आयोजना बैंकको अवधारणा ल्याएर चालु आर्थिक वर्षको बजेट कार्यान्वयन गरिरहेको छ। कार्यक्रममा उक्त अवधारणालाई अझ परिमार्जन गर्ने विषयमा पनि छलफल हुने जनाइएको छ।