• कार्तिक २१, २०८२
  • No Comment
  • 181

हात्तीको नङ काट्ने नेपाली शैली अमेरिकासम्म

बर्दिया — नेपालमा परम्परागत रूपमा प्रचलित हात्तीको नङ काट्ने नेपाली शैली अहिले अमेरिकासम्म पुगेको छ। परम्परागत विधिलाई सुधार गर्दै विकसित गरिएको यो प्रविधिले हात्तीको स्वास्थ्यमा उल्लेख्य सुधार ल्याएको विज्ञहरू बताउँछन्।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका भेटेनरी डाक्टर किरण रिजालका अनुसार, करिब आठ वर्षअघि अमेरिकी पशु चिकित्सकहरूको टोली नेपाल आएर नयाँ विधि सिकाएपछि नङ काट्ने प्रक्रिया अझ सहज र सुरक्षित बनेको हो।

“पहिले नङ माथिबाट काट्दा हात्तीको खुट्टामा चोट लाग्ने जोखिम थियो,” डा. रिजालले भने, “अहिले भने पैतालातिरबाट काट्ने प्रविधि अपनाएका छौँ, जसले नङभित्रको फोहोर सफा गर्न सजिलो बनाएको छ र हात्तीको खुट्टा स्वास्थ्य सुधारिएको छ।”

अमेरिकी टोलीले नेपाली खुर्पा (परम्परागत काट्ने उपकरण) बाट प्रभावित भई आफ्ना उपकरणहरू पनि परिमार्जन गरेको डा. रिजालले बताए। “पहिले आठ घण्टा लाग्ने काम अहिले दुई घण्टामै सकिन्छ,” उनले भने। उनका अनुसार १० वटा नेपाली खुर्पा अमेरिका पठाइसकिएको छ।

अमेरिकी संस्था केएसिफ (K-SIF) ले राष्ट्रिय प्रकृति संरक्षण कोषसँग सहकार्यमा पछिल्ला आठ वर्षदेखि हात्ती स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। यस शिविरमा अमेरिकी र नेपाली पशु चिकित्सकहरूले संयुक्त रूपमा हात्तीको नङ काट्ने, खोप लगाउने, जुकाको औषधि दिने र स्वास्थ्य परीक्षण गर्ने गर्छन्।

डा. रिजालका अनुसार, घरपालुवा हात्तीको ४० प्रतिशत स्वास्थ्य समस्या खुट्टासँग सम्बन्धित हुन्छ। “खुट्टामा समस्या आएपछि हात्तीको चालढाल र दैनिकी प्रभावित हुन्छ,” उनले बताए।

यस वर्ष बर्दिया राष्ट्रिय निकुञ्जमा सञ्चालन भएको शिविरमा १३ वटा निकुञ्जका र १ वटा कोषका गरी १४ हात्तीको उपचार गरिएको छ। मङ्गलबारदेखि सुरु भएको शिविर बुधबारसम्म चल्यो।

बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त वरिष्ठ संरक्षण अधिकृत सरोजमणि पौडेलका अनुसार, हात्ती जैविक विविधता संरक्षण र पर्यटन दुवैका लागि महत्वपूर्ण भएकाले नियमित स्वास्थ्य परीक्षण र नङ काट्ने कार्य अत्यावश्यक छ।

“हामी हरेक छ महिनामा हात्तीको नङ काट्ने गर्छौं,” पौडेलले भने, “यसले हात्तीको स्वास्थ्य मात्र होइन, तिनको हिँडडुल र काम गर्ने क्षमतालाई पनि सुधार गर्छ।”

विशेषज्ञहरूका अनुसार, नेपाली र अमेरिकी चिकित्सकबीचको प्रविधि आदान–प्रदानले हात्तीको खुट्टा र स्वास्थ्यमा उल्लेख्य सुधार ल्याएको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *