- कार्तिक १७, २०८२
- No Comment
- 79
दोलखाको रोल्वालिङ क्षेत्रमा हिमपहिरो : ३ जनाको मृत्यु, ८ जना बेपत्ता
दोलखा, कात्तिक १७ — दोलखाको गौरीशङ्कर गाउँपालिका–९ अन्तर्गत रोल्वालिङ क्षेत्रस्थित यलुङरी हिमालको आधार शिविर नजिक आज बिहान गएको हिमपहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने आठ जना बेपत्ता भएका छन्। मृतकमध्ये एक जना विदेशी नागरिक र दुई जना नेपाली पथप्रदर्शक रहेको प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोका अनुसार आरोहणका लागि गएका १५ जना विदेशीसहित स्वदेशी पथप्रदर्शकको टोली बिहान करिब ९ बजे हिमपहिरोमा परेको थियो। उद्धार कार्य जारी रहेकाले बेपत्ताको संख्या अझै परिवर्तन हुन सक्ने जनाइएको छ।
गौरीशङ्कर गाउँपालिका–९ का वडाध्यक्ष निमगेली शेर्पाले बिहानैदेखि उद्धारका लागि आग्रह गरे पनि प्रशासनबाट ढिलाइ भएको गुनासो गरेका छन्। उनका अनुसार रोल्वालिङ क्षेत्र प्रतिबन्धित क्षेत्र भएकाले हेलिकप्टर उडानका लागि अनुमति लिन ढिलाइ हुँदा उद्धारमा समस्या भएको हो।
प्रहरीका अनुसार हाल नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धारका लागि घटनास्थलतर्फ गइरहेका छन्। हेलिकप्टरमार्फत उद्धार प्रयास भइरहेको भए पनि प्रतिकूल मौसमका कारण उद्धार टोलीलाई घटनास्थल पुग्न कठिनाइ भइरहेको जनाइएको छ।