- कार्तिक ८, २०८२
- No Comment
- 243
रुकुम पश्चिममा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु, १० जना घाइते

रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–७ लिस्नेको भित्री सडकखण्डमा जीप दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन्। शुक्रबार बेलुका सदरमुकाम खलङ्गाबाट आठबिसकोट नगरपालिका–२ स्यालाखदी जाँदै गरेको रा १ ज ४२२ नम्बरको जीप सडकबाट तल खसेर दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार दुर्घटनामा परी सात जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा ज्यान गएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेहरूमा आठबिसकोट नगरपालिकाकी ३० वर्षीया कमला वली, १६ वर्षीय टेकजङ्ग बुढा, १५ वर्षीया दिलमाया बूढा, १७ वर्षीया मनिका वली, १८ वर्षीया शर्मिला विक, २२ वर्षीय गोपाल वली, १४/१५ वर्षकी कल्पना नेपाल र २८ वर्षकी सबिता विक रहेका छन्। घाइते १० जनाको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहे पनि प्रारम्भिक अनुसन्धान अनुसार जीपमा क्षमताभन्दा बढी यात्रु रहेका र सडक साँघुरो भएकाले दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।



