- जेष्ठ १२, २०८३
- No Comment
- 6
चौकुने गाउँपालिकामा खाद्य अधिकार, खाद्य सुरक्षा तथा सम्प्रभुता नीति २०८३ सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

सुर्खेत। चौकुने गाउँपालिकाको सभाहलमा खाद्य अधिकार, खाद्य सुरक्षा तथा सम्प्रभुता नीति २०८३ सम्बन्धी एकदिने कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । जनहित संरक्षण मञ्च (प्रो–पब्लिक) अनामनगर काठमाडौंको आयोजनामा तथा(“विश्वव्यापी हरित अनुदान कोष”)Global Greengrants Fund को सहयोगमा सम्पन्न कार्यक्रममा चौकुने गाउँपालिका अध्यक्ष खडक बिवस् बासपानेको अध्यक्षता रहेको थियो ।
कार्यक्रममा खाद्य अधिकार, खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुतासम्बन्धी नीति २०८३ का विषयमा छलफल, अन्तरक्रिया तथा जानकारीमूलक प्रस्तुतीकरण गरिएको थियो । कार्यक्रममा स्थानीय तहको भूमिका, नागरिकको खाद्य अधिकार सुनिश्चित गर्ने उपाय तथा कृषि उत्पादन, पोषण र खाद्य प्रणालीलाई प्रभावकारी बनाउने विषयमा समेत जोड दिइएको थियो । कार्यक्रममा वडा अध्यक्षहरू कमल जी.सी., धनिराम धमाला, गोबिन्द थापा, टोपबहादुर बुढाक्षेत्री, विभिन्न संघसंस्थाका प्रतिनिधि, चौकुने गाउँपालिकाका बिभिन्न शाखाका शाखा प्रमुख लगायत सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
अध्यक्ष खडक बिवस् बासपानेले खाद्य अधिकार, खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुता नागरिकको आधारभूत अधिकारसँग जोडिएको विषय भएकाले यसको प्रभावकारी कार्यान्वयनमा स्थानीय तह गम्भीर रहेको बताउनुभयो । उहाँले स्थानीय उत्पादनको संरक्षण, कृषिमा आत्मनिर्भरता, पोषणयुक्त खाद्य वस्तुको पहुँच विस्तार तथा किसानमुखी कार्यक्रम सञ्चालनमार्फत खाद्य सुरक्षालाई बलियो बनाउने दिशामा गाउँपालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । उहाँले “स्थानीय उत्पादन बढाउने, किसानलाई प्रोत्साहन गर्ने र प्रत्येक नागरिकलाई सुरक्षित तथा गुणस्तरीय खाद्य वस्तुको पहुँच सुनिश्चित गर्नु आजको आवश्यकता हो,” भन्दै खाद्य अधिकार सुनिश्चित गर्न सबै सरोकारवाला पक्षबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रमको सहजीकरण जनहित संरक्षण मञ्च (प्रो–पब्लिक) का कार्यकारी निर्देशक बाबुराम पौडेलले र सु- शासन तथा समावेशी सल्लाहकार प्रकाश दाहालले गर्नु भएको थियो ।कार्यक्रममा सहभागीहरूले खाद्य अधिकार, खाद्य सुरक्षा तथा सम्प्रभुतासम्बन्धी नीति प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तह, सरोकारवाला निकाय र समुदायबीच सहकार्य आवश्यक रहेको बताएका थिए ।



