- भदौ १७, २०८२
- No Comment
- 41
पाँच दिनपछि खुल्यो कर्णाली राजमार्ग, स्याउका ट्रक गन्तव्यतर्फ

जुम्ला । अविरल वर्षाका कारण गएको शुक्रबारदेखि अवरुद्ध कर्णाली राजमार्ग पाँच दिनपछि खुलेको छ। सडक डिभिजन कार्यालय जुम्लाले डोजरले हटाउन नसकेका ठूला ढुङ्गा नेपाली सेनाको सहयोगमा ब्लास्टिङ गरेर पन्छाएपछि सडक सञ्चालनमा आएको हो।
सडक सञ्चालनमा आएपछि स्याउ बोकेका २३ वटा ट्रक सुर्खेत र नेपालगन्जतर्फ प्रस्थान गरेका छन्। ती ट्रकमा करिब १८४ मेट्रिक टन स्याउ थियो, जसको मूल्य झन्डै १३ करोड रुपैयाँभन्दा बढी रहेको व्यापारीहरूले बताएका छन्। पाँच दिनसम्म सडकमै अलपत्र परेका कारण स्याउ कुहिने चिन्ता व्यापारी र किसानमा बढेको थियो।
सडक डिभिजन जुम्लाका प्रमुख दीपेन्द्र चौधरीका अनुसार निरन्तर वर्षा, भौगोलिक कठिनाइ र स्रोत–साधन अभावका कारण ढिलाइ भएको हो। कालिकोट प्रहरी प्रशासन र नेपाली सेनाको सहयोगमा सडक सञ्चालनमा ल्याइएको उनले बताए।
सडक खुलेसँगै व्यापारी खुसी भएका छन्। तर, वर्षा अझै जारी रहेकाले पहिरोको जोखिम कायमै रहेको भन्दै सडक डिभिजनले अत्यावश्यक कामबाहेक यात्रा नगर्न अनुरोध गरेको छ।