- असार ११, २०८२
- No Comment
- 23
असार १५ मा कर्णालीका नौ जिल्लामा सार्वजनिक बिदा, जुम्लामा भने कार्यालय खुल्ने

सुर्खेत । राष्ट्रिय धान दिवसको अवसरमा कर्णाली प्रदेशका १० जिल्लामध्ये नौ जिल्लामा सार्वजनिक बिदा दिइएको छ । आगामी आइतबार, असार १५ गते जुम्लाबाहेक प्रदेशका अन्य सबै जिल्लामा सार्वजनिक बिदा हुने भएको छ ।
कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार, प्रदेश मन्त्रिपरिषद्को २०८१ चैत्र १७ गतेको निर्णयअनुसार उक्त बिदा स्वीकृत गरिएको हो । मन्त्रालयका शाखा अधिकृत राजेश चौधरीले एक सूचना जारी गर्दै जुम्लाबाहेकका जिल्लाका सरकारी तथा सार्वजनिक संघसंस्थाहरूमा बिदा लागू हुने जानकारी दिनुभयो ।
जुम्लामा भने मौसम र खेती प्रणालीको विशिष्टताका कारण पहिले नै धान दिवस मनाइएको थियो । जिल्लामा गत चैत्र १२ गते आइतबार नै धान दिवस मनाइएको र सोही दिन सार्वजनिक बिदा दिइएकोले असार १५ मा बिदा नहुने मन्त्रालयले स्पष्ट पारेको छ ।
यस निर्णयसँगै असार १५ गते आइतबार कर्णालीका सुर्खेत, दैलेख, सल्यान, रुकुम पश्चिम, जाजरकोट, डोल्पा, हुम्ला, कालिकोट र मुगु जिल्लामा सरकारी कार्यालय तथा सार्वजनिक संस्थानहरू बन्द रहनेछन् ।