- असार ११, २०८२
- No Comment
- 25
बराहताल गाउँपालिकाले ल्यायो ६३ करोडको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा

सुर्खेत सुर्खेतको बराहताल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६३ करोड ७ लाख ४८ हजार ९९९ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १७ औं गाउँसभा मार्फत नीति तथा कार्यक्रमसँगै प्रस्तुत गरिएको बजेटमा चालु खर्च तर्फ ५८ प्रतिशत र पुँजीगत तर्फ ४२ प्रतिशत रकम छुट्याइएको छ।
बजेटको मुख्य स्रोतका रूपमा संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान तथा राजस्व बाँडफाँड रहेको छ। गाउँपालिकाले नेपाल सरकारबाट वित्तीय हस्तान्तरण अन्तर्गत कुल ३९ करोड ९ लाख, कर्णाली प्रदेश सरकारबाट ६ करोड ४२ लाख ५१ हजार तथा राजस्व बाँडफाँडबाट संघीय सरकारमार्फत १४ करोड ४४ लाख र प्रदेश सरकारबाट २५ लाख रुपैयाँभन्दा बढी प्राप्त गर्नेछ।
गाउँपालिकाले सार्वजनिक गरेको बजेटमा कृषि क्षेत्रको सुधार तथा रुपान्तरण, उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना र गरिबी निवारणलाई मुख्य जोड दिइएको छ। त्यसैगरी, स्थानीय आर्थिक विकास, मानव संसाधन, पूर्वाधारको विकास र पूँजी निर्माणका साथै सुशासन र प्रभावकारी सेवा प्रवाहलाई पनि बजेटले उच्च प्राथमिकतामा राखेको छ। प्रस्तुत बजेटले स्थानीय विकासका आकांक्षालाई सम्बोधन गर्दै गाउँपालिकाको समग्र विकासमा टेवा पुर्याउने विश्वास लिइएको छ।