• असार १०, २०८२
  • No Comment
  • 33

चौरजहारी नगरपालिकाद्वारा विभिन्न विधामा २२ जना व्यक्तित्व र ३ संस्था सम्मानित

उपशीर्षक: जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थीदेखि किसान र पत्रकारसम्म पुरस्कृत

 रुकुम पश्चिम। रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आफ्नो नगरसभाको अवसरमा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान गरेको छ। “समृद्ध चौरजहारी : जनउत्तरदायी सरकार” को सोचलाई साकार पार्न सक्रिय र इमान्दारितापूर्वक कार्य गर्नेहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले नगरपालिकाले २२ जना व्यक्ति र ३ वटा संस्थालाई पुरस्कृत गरेको हो।

साेमबार  सम्पन्न नगरसभामा आर्थिक वर्ष २०८१/०८२ को नीति, कार्यक्रम तथा बजेट पारित गर्ने क्रममा यो सम्मान कार्यक्रम आयोजना गरिएको थियो। नगरपालिकाले सार्वजनिक गरेको सूचना अनुसार, उत्कृष्ट जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी, किसान, पत्रकार र सामाजिक संघसंस्थालाई उनीहरूको योगदानको कदर गर्दै सम्मान गरिएको हो।

विभिन्न क्षेत्रबाट समृद्ध नगरको सोच पूरा गर्न योगदान गर्ने व्यक्ति तथा संस्थाहरूलाई नगर सभाको अवसरमा सम्मान गरिएको नगर प्रमुख पुष्प वादीले जानकारी दिनुभयो । हरेक वर्ष विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थालाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत यो वर्ष पनि सम्मान कार्यक्रम सञ्चालन गरेको उहाँले बताउनुभयो ।

सम्मानित हुनेहरूमा उत्कृष्ट वडा अध्यक्ष पुरस्कारबाट वडा नं. ४ का अध्यक्ष श्री गोपालबहादुर भण्डारी र उत्कृष्ट जनप्रतिनिधि पुरस्कारबाट वडा नं. ११ का सदस्य श्री केवल ओली सम्मानित हुनुभएको छ।

शिक्षा क्षेत्रतर्फ, हिमालय मा.वि. खोलागाउँका विद्यार्थीद्वय श्री केशव ओली र श्री वर्षा शर्माले क्रमशः उत्कृष्ट विद्यार्थी र उत्कृष्ट छात्रा पुरस्कार प्राप्त गर्नुभएको छ। यसैगरी, कालिका आ.वि. लयॉंटाका श्री लालबहादुर घर्तीले उत्कृष्ट प्रधानाध्यापक पुरस्कार र आधारभूत विद्यालय नाखिराका श्री निमेन्द्र भण्डारीले उत्कृष्ट नगर शिक्षक पुरस्कार पाउनुभएको छ।

त्यस्तै, स्वास्थ्य सेवातर्फ शहीदस्मृति नगर अस्पतालका श्री डा. विवेक के.सी.लाई उत्कृष्ट स्वास्थ्यकर्मी पुरस्कार प्रदान गरिएको छ। प्रशासनतर्फ उत्कृष्ट वडा सचिव पुरस्कारबाट वडा नं. ७ का सचिव श्री कमल खड्का, उत्कृष्ट कर्मचारी पुरस्कारबाट रोजगार सेवा केन्द्रका श्री प्रवीण थापा, उत्कृष्ट सहयोगी कर्मचारी पुरस्कारबाट नगर कार्यपालिका कार्यालयकी श्री अमृता आचार्य र उत्कृष्ट सवारी चालक पुरस्कारबाट श्री कृष्ण वि.क. सम्मानित हुनुभएको छ।

नगरपालिकाले कृषि क्षेत्रमा योगदान गर्ने किसानहरूलाई पनि सम्मान गरेको छ। उत्कृष्ट पशुपालक कृषक पुरस्कार चौरजहारी-१० का श्री ललित के.सी.लाई, उत्कृष्ट तरकारी कृषक पुरस्कार चौरजहारी-३ का श्री तिलक बहादुर मल्ललाई र उत्कृष्ट कृषक पुरस्कार चौरजहारी-४ की श्री मुना भण्डारीलाई प्रदान गरिएको छ।

पत्रकारिताको माध्यमबाट नगरको विकासमा टेवा पुर्‍याएबापत सम्पादक kakhara.com का श्री मनिष खड्कालाई उत्कृष्ट पत्रकार पुरस्कार र रेडियो चौरजहारी एफएमका श्री राजेन्द्र वि.क.लाई उत्कृष्ट प्राविधिक पत्रकार पुरस्कार प्रदान गरिएको छ।

संस्थागततर्फ, उत्कृष्ट कार्यसम्पादनका लागि श्री ईलाका प्रहरी कार्यालय चौरजहारी र श्री नगर प्रहरी व्यवस्थापन उपशाखालाई सम्मान गरिएको छ भने उत्कृष्ट गैरसरकारी संस्था पुरस्कारबाट मानव विकास तथा सामुदायिक सेवा (HDCS) लाई पुरस्कृत गरिएको छ।

नगरपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालका अनुसार, नगरको विकास र समृद्धिमा इमान्दारीपूर्वक लाग्नेहरूको योगदानको कदर गर्न यो सम्मान कार्यक्रम आयोजना गरिएको हो। उहाँले भन्नुभयो, “यो सम्मानले पुरस्कृत व्यक्तित्वलाई थप हौसला प्रदान गर्नेछ र अन्यलाई पनि नगर निर्माणको अभियानमा लाग्न प्रेरणा दिनेछ भन्ने विश्वास लिएका छौं।”

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *