• असार ८, २०८२
  • No Comment
  • 57

कर्णालीका प्रेरणादायी नारीहरू सम्मानित, चलचित्र ‘सतिदेवी’को विशेष प्रदर्शन

सुर्खेत महिला सशक्तिकरण, पहिचान र प्रेरणाको सन्देश प्रवाह गर्ने उद्देश्यका साथ शनिबार सुर्खेतमा “कर्णाली नारी सम्मान कार्यक्रम २०८२” तथा नारीप्रधान चलचित्र “सतिदेवी” को विशेष प्रदर्शन  सम्पन्न भएको छ। प्लेइङ फर चेन्ज (Playing for Change) को आयोजनामा सुर्खेतको लक्ष्मी चलचित्र मन्दिरमा आयोजित उक्त कार्यक्रममा कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका विशिष्ट महिलाहरूलाई सम्मान गरिएको हो।

प्लेइङ फर चेन्जका अध्यक्ष प्रकाश खड्काको सभापतित्व तथा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री माननीय यामलाल कँडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले महिलाहरूको सम्मान र सशक्तिकरण बिना समाजको समग्र विकास असम्भव रहेको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले महिलाहरूलाई थप ऊर्जा र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।

समारोहमा कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकास मन्त्री माननीय विजया बुढा, वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकाल, अखिल क्रान्तिकारीकी पूर्व केन्द्रीय अध्यक्ष पञ्चा सिंह, भगवतीमाई गाउँपालिकाकी उपाध्यक्ष मिना कुमारी खड्का, पाइलट सिर्जना रावत, खेलाडी सुनमाया बुढा, पत्रकार माया थापा, पत्रकार तृप्ति शाही, दिगो एकता महिला विकास तथा ऋण सहकारीकी अध्यक्ष सुनिता खड्का, राउटे लोपोन्मुख तथा सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष सत्यदेवी खड्का (अधिकारी), समाजसेवी यमुना सापकोटा र उद्यमी हिम कुमारी उपाध्यायलाई “कर्णाली नारी सम्मान २०८२” बाट सम्मानित गरिएको थियो।

सम्मान कार्यक्रमसँगै युवा उद्यमी तथा निर्देशक/निर्माता लक्ष्मण सुवेदीद्वारा निर्मित नारीप्रधान चलचित्र “सतिदेवी” को विशेष प्रदर्शन पनि गरिएको थियो। चलचित्रले महिलाले भोग्नुपरेका चुनौती र उनीहरूको संघर्षको कथालाई सशक्त रूपमा प्रस्तुत गरेको थियो, जसलाई उपस्थित दर्शकले निकै रुचाएका थिए।

कार्यक्रममा ४०० भन्दा बढी युवा, संघसंस्थाका प्रतिनिधि, विद्यार्थी, शिक्षक, पत्रकार, समाजसेवी तथा भद्रभलादमीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रमलाई सफल बनाउन प्लेइङ फर चेन्जका सल्लाहकार एवं युवा नेता भुपेन्द्रजंग शाही, उपाध्यक्ष राजेन्द्र अधिकारी, स्वयंसेवकहरू तथा लक्ष्मी चलचित्र मन्दिरको महत्त्वपूर्ण भूमिका रहेको थियो। कार्यक्रमको प्रायोजन वि.सी. ग्रुप अफ कम्पनीज, मुना डिजाइन लगायतले गरेका थिए भने कार्यक्रम सञ्चालन सिम्रन वि.क. (चाइनिज) ले गर्नुभएको थियो।

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *