- असार ८, २०८२
- No Comment
- 188
सुर्खेतकाे चाैकुनेमा ट्याक्टर पल्टिँदा दुईको मृत्यु, नौ घाइते
सुर्खेत । सुर्खेतको चौकुने गाउँपालिकामा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार, चौकुने गाउँपालिका–६ साल्मबाट पञ्चपुरी नगरपालिकातर्फ जाँदै गरेको ट्याक्टर अनियन्त्रित भई पल्टिएको थियो। दुर्घटनामा परी पञ्चपुरी नगरपालिका–८ का २८ वर्षीय राजु कामी र ३० वर्षीय भवाने कामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख, प्रहरी निरीक्षक वकिल सुनारका अनुसार ट्याक्टरमा चालकसहित ११ जना सवार थिए। दुर्घटनामा घाइते भएका नौ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँमा पठाइएको छ।
बाँकी ६ जना घाइतेको उपचार चौकुने गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र, सालकोटमा भइरहेको प्रहरी निरीक्षक सुनारले बताए।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।