• जेष्ठ २७, २०८२
  • No Comment
  • 160

भोजपुरको तीनतलेमा चिराइतोको व्यावसायिक खेती फस्टाउँदै, किसानको आम्दानी लाखौँमा

भोजपुर — षडानन्द नगरपालिका–१० तीनतले क्षेत्रका किसानहरु अहिले चिराइतोको व्यावसायिक खेतीमा सक्रिय छन्। मकै र आलु जस्ता परम्परागत बालीको तुलनामा चिराइतोबाट धेरै आम्दानी हुने भएपछि यहाँका १२० भन्दा बढी किसानले चिराइतोसहित लोठसल्ला र सतुवाल जस्ता जडीबुटी खेतीलाई अपनाएका छन्।

वडाध्यक्ष पेमदोर्ची शेर्पाका अनुसार तीनतले क्षेत्रका अधिकांश किसानको मुख्य आम्दानी स्रोत नै चिराइतो हो। नगरपालिकाले यस क्षेत्रलाई जडीबुटीको “पकेट क्षेत्र” घोषणा गरेर प्रोत्साहन कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ।

स्थानीय किसान फुर्लाक्पा शेर्पाले २५ रोपनी क्षेत्रफलमा चिराइतो खेती गर्दै वार्षिक ४ देखि ७ लाख रुपैयाँसम्म आम्दानी हुने जानकारी दिए। गत वर्ष उनले चिराइतोबाट ७ लाख रुपैयाँ कमाएका थिए। अर्का किसान निमा शेर्पाले एक मन (४० केजी) चिराइतो घरबाटै ४०–४५ हजार रुपैयाँमा बिक्री हुने बताउँदै, १० वर्षदेखि यसै खेतीमा लागेको बताए।

उच्च उत्पादन र बढ्दो मागसँगै रोगको समस्या पनि देखिन थालेको छ। बोट सुक्ने र जरा कुहिने समस्याले किसान चिन्तित छन्। रोग नियन्त्रणमा राज्यको सहयोग भएमा उत्पादन र आम्दानी अझ बढ्न सक्ने किसानहरूको अपेक्षा छ।

चिराइतोको औषधीय प्रयोगका कारण यसको माग भारत, चीन र बङ्गलादेशमा रहेको व्यवसायीहरू बताउँछन्। ज्वरो, रुघाखोकी, दम, मधुमेह, पिसाब पोल्ने लगायतका रोगमा यसको प्रयोग हुन्छ। पात, डाँठदेखि जरासम्म सबै भाग औषधीय रूपमा प्रयोग गर्न सकिने हुँदा यसको मूल्य दिनानुदिन बढ्दो छ।

चिसो हावापानी र लेकाली भूगोल उपयुक्त भएकाले षडानन्द १०, ११, १३ सहित टेम्केमैयुङ र आमचोक गाउँपालिकाका थुप्रै क्षेत्रहरूमा पनि चिराइतो खेती फस्टाइरहेको छ।

सम्बन्धित खबर

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश…
आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

आँप खानेबित्तिकै किन लाग्छ केहीलाई पखाला ?

गर्मी सुरु भएसँगै बजारमा आँपको चहलपहल बढेको छ। स्वादिलो र पोषणयुक्त फलका रूपमा चिनिने आँप धेरैको रोजाइमा पर्ने भए पनि केही…
हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

हरिडिल भुमी माविलाई कक्षा ११ सञ्चालन अनुमति

सुर्खेत। श्री हरिडिल भुमी माध्यमिक विद्यालय ले कक्षा ११ सञ्चालनका लागि औपचारिक अनुमति प्राप्त गरेको छ। वीरेन्द्रनगर नगरपालिकाले  शुक्रबार अनुमति प्रदान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *