- जेष्ठ २१, २०८२
- No Comment
- 152
पोखरामा विद्यार्थी चढेको बसमाथि आक्रमण, ५ जना घाइते
काठमाडौं । पोखराको चाउचे क्षेत्रमा विद्यार्थी सवार बसमाथि ढुंगा प्रहार गरी आक्रमण गरिएको छ। आक्रमणमा परी पाँच जना विद्यार्थी घाइते भएका छन् भने प्रहरीले घटनामा संलग्न रहेको आशंकामा तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी हरि बस्नेतका अनुसार, १८ जेठ राति करिब साढे ११ बजेतिर बा १ प ९१६ नम्बरको बसमाथि आक्रमण भएको हो। उक्त बस नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी, बालकुमारी ललितपुरका विद्यार्थी लिएर शैक्षिक भ्रमणका लागि पोखरा पुगेको थियो। काठमाडौं फर्कने क्रममा बसमाथि ढुंगा प्रहार गरिएको प्रहरीले जनाएको छ।
ढुंगा प्रहारको आरोपमा पक्राउ पर्नेमा चितवनका ४८ वर्षीय तिलकबहादुर थापा मगर, बारा घर भई हाल बसमा सहचालकको रूपमा कार्यरत ३० वर्षीय मानप्रसाद खरेल, र गोरखा पालुङटारका २८ वर्षीय राजेश मरहट्टा रहेका छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय शिशुवा र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीहरूविरुद्ध कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद लिइ आपराधिक उपद्रवको कसुरमा अनुसन्धान अघि बढाइएको छ।
घाइते विद्यार्थीहरूको उपचार पोखरास्थित विभिन्न अस्पतालमा भइरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।