- चैत्र १९, २०८१
- No Comment
- 36
मलेसियामा ग्यास पाइप विस्फोट, ३३ जना घाइते

क्वालालम्पुर, मलेसिया – मलेसियाको क्वालालम्पुर नजिकै रहेको पुत्रा हाइट्स क्षेत्रमा मंगलबार बिहान एक ग्यास पाइप विस्फोट भएपछि भीषण आगलागी भएको छ । अधिकारिहरूका अनुसार घटनामा ३३ जना घाइते भएका छन्, जसमध्ये ६ जनालाई अस्पताल भर्ना गरिएको छ । अग्निनियन्त्रण विभागका निर्देशक वान मोहम्मद रजाली वान इस्माइलका अनुसार ग्यास पाइप विस्फोटनका कारण आगलागी भएको हो ।
घटनास्थलबाट देखिएको अग्नि र धुवाँको मुस्लो धेरै किलोमिटरसम्म फैलिएको थियो । सुरक्षाका लागि वरपरका घरहरू खाली गराइएको छ । घरभित्र फसेका व्यक्तिहरूको उद्धारकार्य जारी छ ।
सेलाङ्गोर राज्यबाट ठूलो संख्यामा अग्निनियन्त्रकहरू घटनास्थलमा परिचालित भएका छन् ।
मलेसियाको राष्ट्रिय तेल कम्पनी पेट्रोनास का अनुसार बिहान ८स्१० बजे ग्यास पाइपलाइन विस्फोट भएपछि आगलागी सुरु भएको थियाे । घटनालगत्तै प्रभावित पाइपलाइनलाई अलग गरिए पनि सतर्कताका रूपमा नजिकै रहेका तीनवटा ग्यास स्टेसन अस्थायी रूपमा बन्द गरिएका छन् ।
अहिलेसम्म आगलागी नियन्त्रणमा आएको जानकारी प्राप्त भएको छैन । घटनाको विस्तृत अनुसन्धान भइरहेको छ ।