• माघ ४, २०८१
  • No Comment
  • 158

भीम रावलले अब नयाँ पार्टी ‘मातृभूमि जागरण अभियान, नेपाल’ राख्ने प्रश्ताव गरे

नेकपा एमालेले निष्कासन गरेका पूर्वउपाध्यक्ष भीम रावलले राष्ट्रवादी उद्देश्य लिएको ‘मातृभूमि जागरण अभियान, नेपाल’ नामक पार्टी बनाउने प्रस्ताव गरेका छन् । बिहिबार सामाजिक सञ्जालामा पार्टीको नाम सार्वजनिक गर्दै रावलले वैकल्पिक शक्तिका रूपमा उक्त पार्टीको नाम प्रस्ताव गरेका हुन् ।

नेपालको संवेदनशील भूराजनीति लगायत समग्र स्थितिलाई मनन गरी देशभक्तिपूर्ण भावनाका साथ जनताको हितलाई पहिलो स्थानमा राखेर अघि बढ्नु अपरिहार्य भएकाले पार्टी निर्माण गर्नेतर्फ लागेको उनले बताएका छन् । ‘अन्तर्राष्ट्रिय परिस्थिति र शक्ति राष्ट्रहरूको भूमिकाले नेपालमा पर्न सक्ने प्रभावलाई गम्भीर रूपमा बुझेर अन्तर्राष्ट्रिय जगतमा नेपालको स्वतन्त्र व्यक्तित्व उज्यालो र सबल तुल्याउनु पर्ने छ ।

यसका लागि राजनीति, अर्थव्यवस्था, सामाजिक–सांस्कृतिक पक्ष लगायत राष्ट्रिय जीवनका सबै क्षेत्रमा आवश्यक पुनरावलोकन, समीक्षा तथा व्यापक सुधार र परिवर्तनको खाँचो छ,’ रावलले भनेका छन्, ‘यिनै कुरालाई मनन गर्दै स्वदेश र प्रवासमा रहनु भएका सम्पूर्ण इमान्दार र देशभक्त नेपालीहरू तथा सबै राजनीतिक दलका सदस्य, कार्यकर्ता र नेताहरूसँग हातेमालो गर्दै उपयुक्त राष्ट्रिय राजनीतिक वैकल्पिक शक्ति निर्माणका लागि मातृभूमि जागरण अभियान, नेपाल प्रस्ताव गरिएको छ ।’ उनले सबै देशभक्त, लोकतान्त्रिक, न्यायप्रेमी, जनताको हित र समृद्धि चाहने समूह र व्यक्तिहरूको सहभागिता, समर्थन र सहयोगको अपेक्षा गरेका छन् ।

रावलले मातृभूमि जागरण अभियान गठन गर्नुका ११ उद्देश्य अघि सारेका छन् । ‘नेपालको सार्वभौमसत्ता, स्वाधीनता, अखण्डता, स्वाभिमान र हित तथा नेपाली जनताको हक, हित, विकास र समृद्धिको पक्षमा व्यापक जनमत सिर्जना गर्ने अभियानको उद्देश्य छ,’ उनले भनेका छन्, ‘संयुक्त राष्ट्र संघको वडापत्र, असंलग्नता र पञ्चशीलका सिद्धान्त तथा विश्व शान्तिका मान्यतामा आधारित भई राष्ट्रिय हितलाई सर्वोपरी राखेर नेपालको स्वतन्त्र परराष्ट्र नीतिको महत्त्व जनसमुदायमा बोध गराउन पार्टी स्थापना गर्न लागेको हुँ ।’

नेपालको समग्र राष्ट्रिय सुरक्षालाई बलियो बनाउन जनताको साथ र समर्थन सिर्जना गर्न, शासकीय स्वरूप, राज्यको संरचना, निर्वाचन प्रणाली, अर्थ व्यवस्था, शासन– प्रशासन संचालन तथा लोककल्याणकारी पद्धतिजस्ता महत्त्वपूर्ण विषयमा गहन छलफल र बहस चलाउने अभियानको थप उद्देश्य रहेको उनले बताएका छन् । राजनीति र राज्य संचालनमा रहेका विकृति, बेथिति, भ्रष्टाचार र मनपरी एवं देश र जनताको हितविरोधी क्रियाकलापको अन्त्यका लागि सशक्त जनमत सिर्जना गर्न पनि पार्टी स्थापना गर्न जरुरी रहेको रावलले बताएका छन् ।

‘कानूनी शासन, विधि, प्रणाली र पद्धतिलाई बलियो गरी स्थापित गर्न तथा त्यसमा रहेका गलत विचार र अभ्यासको अन्त्यका लागि जनतालाई जागरुक बनाउन जरुरी छ,’ उनले भनेका छन्, ‘राज्यका महत्त्वपूर्ण पदमा रहेका वा रहिसकेका व्यक्तिहरूले गरेका भ्रष्टाचार प्रकरणको निष्पक्ष छानबिन र कारबाहीका लागि जनआवाज व्यापक र बलियो तुल्याउन पनि पार्टी आवश्यक देखिएको छ ।’

अभियानको संगठन निर्माणको प्रक्रिया र स्वरूप केन्द्रदेखि वडासम्म हुने उनले जनाएका छन् । तत्कालका लागि सबै तहमा तदर्थ समिति गठन गर्ने र संयोजक तोक्ने अभियानको तयारी पनि छ । अभियानले आर्थिक व्यवस्थापनका लागि स्वदेश तथा प्रवासमा रहेका शुभेच्छुक, समर्थक र अभियानमा संगठित व्यक्तिहरूबाट स्वैच्छिक रूपमा प्राप्त चन्दाद्वारा आर्थिक व्यवस्थापन गर्ने जनाएको छ ।

सम्बन्धित खबर

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन शिलान्यास

पञ्चपुरी ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको प्रशासनिक भवन…

 सुर्खेत। पञ्चपुरी नगरपालिका वडा नं. ४ बरैचेमा डिभिजन वन कार्यालय भेरीको नयाँ प्रशासनिक भवन निर्माण कार्यको शिलान्यास गरिएको छ। कर्णाली प्रदेश…
सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ हिनामिना आरोप, ५ जनाविरुद्ध मुद्दा

सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ…

सुर्खेत। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिका तत्कालीन सदस्य सचिवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका…
सुर्खेतमा ब्राउनसुगर, नगद र सुनचाँदीसहित दुई जना पक्राउ

सुर्खेतमा ब्राउनसुगर, नगद र सुनचाँदीसहित दुई जना पक्राउ

सुर्खेत, २९ वैशाख । वीरेन्द्रनगरबाट  लागुऔषध ब्राउनसुगर, स्रोत नखुलेको नगद तथा सुनचाँदीका गहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी…

Leave a Reply

Your email address will not be published. Required fields are marked *