- माघ ३, २०८१
- No Comment
- 118
बीमा रकम कै लागि भारतीयसँग मिलेर गरिन श्रीमानको हत्या
दुई महिना अघि घरभित्रै मृत भेटिएका कञ्चनपुरको बेलौरी नगरपालिका–६ भूराकोटका ४९ वर्षीय सियाराम रानाको उनकै श्रीमतीले हत्या गराएको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार श्रीमती जनककुमारीले बीमा रकम कै लागि भारतीय नागरिकलाई प्रयोग गरी श्रीमानको हत्या गराएकी हुन् ।
अनुसन्धानको क्रममा प्रहरीले मृतक सियाराम रानाकी श्रीमती जनककुमारी र भारतीय नागरिक ३० वर्षीय फारुखलाई नियन्त्रणमा लिएको छ ।
राना आफ्नै घरभित्र १३ मंसिरमा मृत भेटिएका थिए । त्यसको भोलिपल्ट प्रहरीले उनकी श्रीमती जनककुमारीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानको क्रममा भारतीय नागरिकको समेत संलग्नता खुलेपछि प्रहरीले भारत उत्तर प्रदेशको लखिखमपुर खिरी जिल्लाको सम्पूर्णानगर बस्ने अन्दाजी ३० वर्षीय फारुखलाई पनि नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले सियारामको हत्या उनकी श्रीमती जनककुमारी र भारतीय नागरिक फारुख मिलेर गरेको अनुसन्धानबाट खुलेको बताए । ‘भारतीय नागरिक फारुखले योजना बनाए पनि हत्या भने स्वयं श्रीमतीले नै गरेको बयान प्रहरीलाई दिएकी छन्,’ उनले भने ।