• मंसिर २६, २०८१
  • No Comment
  • 141

आज मोक्षदा एकादशीः गीता जयन्ती मनाइँदै

वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आज गीता जयन्ती पर्व मनाइँदै छ ।

वैदिक ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले गीता जयन्तीको अवसर पारेर विविध कार्यक्रम आयोजना गर्न लागिएको हो । पाँच हजार एक सय ३२ वर्षअघि मार्गशीर्ष शुक्ल एकादशीका दिन कौरव र पाण्डवबीचको महाभारत युद्धका समय पारेर विष्णुको आठौँ अवतारका रुपमा पृथ्वीमा जन्म लिनुभएका कृष्णले अर्जुनमार्फत कुरुक्षेत्रमा गीता ज्ञानको पुनर्जागरण गरेको धार्मिक विश्वास रही आएको छ । भगवान्ले नै अर्जुनमार्फत् हामीलाई गीताको ज्ञान दिनुभएको हो ।

कुरुक्षेत्रमा १८ दिनसम्म महाभारत युद्ध हुन लाग्दा अर्जुन आफन्तविरुद्ध लडाइँ गर्न तयार नभएपछि भगवान् कृष्णले उपदेश दिन सुनाएको ग्रन्थ गीता भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।

“त्यसबेला कौरवका ११ अक्षयोनी सेना थिए, पाण्डवका सात अक्षयोनी सेना, भगवान् कृष्ण पाण्डवका पक्षमा हुनुहुन्थ्यो, अर्जुनको सारथीका रुपमा, कौरवका पक्षमा हजुरबा भीष्मपितामह नै सेनापति देखेपछि अर्जुनले युद्ध गर्ने विषयमा शङ्का गरे, विश्वस्त बनाउन उपदेशका रुपमा गीता सुनाइएको हो”, उहाँले भन्नुभयो ।

चार वेदका एक हजार एक सय ३१ शाखामध्ये हाल १२ वटा मात्र अस्तित्वमा रही अरु लोप भए जस्तो गीताको ज्ञान लोप नहोस् भनी जनचेतनाका लागि कार्यक्रम आयोजना गर्ने गरिएको जियर शैक्षिक प्रतिष्ठानका अध्यक्ष कुमार अधिकारीले बताउनुभयो ।

“ऋग्वेदका २१ शाखामध्ये हाल दुई, यजुर्वेदका एक सय एक शाखामध्ये चार, सामवेदका एक हजार शाखामध्ये चार, अथर्ववेदका नौ शाखामध्ये दुई शाखा मात्र हाल उपलब्ध छन्, अरु लोप भइसके, गीताले यस्तै नियति भोग्नु नपरोस् भनी जनजागरण गर्न गीता जयन्ती कार्यक्रम मनाउन सुरु गरिएको हो”, उहाँले भन्नुभयो ।

प्रतिष्ठानले ११ वर्षअघिदेखि मोक्षदा एकादशी अर्थात् आजका दिन गीता जयन्ती मनाइँदै आएको छ । यसैगरी गीता मन्दिर स्वयम्भूमा पनि आज कार्यक्रम आयोजना गरिने जनाइएको छ । विश्व हिन्दू महासङ्घ र यसका विभिन्न शाखाले पनि गीता जयन्तीकै अवसरमा आज राजधानीमा कार्यक्रम आयोजना गर्न लागेको जनाइएको छ । यस अवसरमा विभिन्न मन्दिरमा गीता पाठ लगायत कार्यक्रम समेत गरिने भएको छ । गीतामा भक्ति, ज्ञान र वैराग्य योगका विषयमा चर्चा गरिएको छ ।

सम्बन्धित खबर

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

अफगानिस्तानका तीन क्रिकेट खेलाडीको पाकिस्तानको आक्रमणमा मृत्यु

काठमाडौं, २०८२ कार्तिक १ — पाकिस्तानको आक्रमणमा अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) का अनुसार पक्तिका…
विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

विहान छिट्टै उठ्न सक्दैन ? यी सरल तरिका अपनाउनुहोस्

एजेन्सी । विहान सबेरै उठ्न नसक्नु आजकल धेरैको साझा समस्या बनेको छ । बिहान उठेर विभिन्न काम गर्ने योजना बनाए पनि…
प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

प्रहरी दिवसको अवसरमा एनआरएनए अध्यक्ष श्रेष्ठ सम्मानित

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष महेश कुमार श्रेष्ठलाई सम्मान…

Leave a Reply

Your email address will not be published. Required fields are marked *